देश

असोज १० देखि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं, असोज ६–काठमाडौंलगायत देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकले तयारी गरेको छ । असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ ।

यसपटक राष्ट्र बैंकले रकम वितरण गर्ने सूचीमा थापाथली कार्यालय छैन । थापाथलीस्थित कार्यालयको भवन पुनर्निर्माणको काम जारी रहेकाले यस वर्ष थापाथलीबाट नयाँ नोट नबाँड्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो ।

काठमाडौं उपत्यकामा नयाँ नोट पाइने स्थानहरू :
उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउने छन् ।

राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले काठमाडौं उपत्यकाका ६ गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएको छ।

नयाँ नोट पाइने उपत्यका बाहिरका स्थानहरू:
राष्ट्र बैंकले काठमाडौं उपत्यकासँगै अन्य जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । राष्ट्र बैंकका अनुसार, उसका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ । उपत्यकाभित्र अन्य बैंकमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले उपत्यकाबाहिर भने अन्य बैंकबाट नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छैन ।

यसपटक सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले सीधै नयाँ नोट वितरण नगर्ने प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । निरौलाका अनुसार राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई नयाँ नोट दिनेछ र सहकारी संस्थाहरुले राष्ट्रिय सहकारी बैंकमा गएर नयाँ नोट लिन पाउने छन् ।

अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले सहकारी संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँथ्यो । कार्यालयको चिठी लगेर सहकारी संस्थाहरुले नयाँ नोट साट्थे र आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँथे । तर, यसपटक सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले सीधै नयाँ नोट वितरण नगर्ने प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

Featured