देश

९९ लाख धरौटीमा छुटेका राजाराम लाखौं रकम ठगेर फरार

धनगढी, असोज ६–बझाङ थलाराका मोहन रेग्मी एक वर्ष अघि प्राविधिक शिक्षा हासिल गर्न धनगढी पुगे । राम्रो भेटनरी जेटिए पढाई हुने स्थानको खोजीमा धनगढी बजार भौंतारिरहेका उनी धनगढी उपमहानगरपालिका ८ मा रहको धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीमा भर्ना हुन पुगे । गाउँबाट ऋण लिएको पैसाले उनी जेटिए अध्ययन गर्न थाले । उनी इन्स्टिच्युट नजिकै डेरा गरी बस्न थाले । उनले भर्ना शुल्क र पढाइशुल्क गरी सञ्चालक राजाराम चौधरीलाई १ लाख रकम बुझाए । अध्यायन गर्न थालेको एक वर्षसम्म राम्रो सँग बित्यो ।

तर अब परीक्षा दिनुपर्ने समयमा सञ्चालक नै फरार भएपछि उनको भविष्य अन्योलमा परेको छ । आर्थिक अवस्था निकै कमजोर रहेका मोहन अहिले समस्यामा परेका छन् । सञ्चालक चौधरीले १८ महिने कोर्ष भनेर भर्ना लिए पनि ३ महिने तालिम भनेर सिटिइभिटीबाट मान्यता लिएको भेटिएको उनले बताए । उनी मात्रै होइन त्यहाँ अध्ययनका लागि आएका अन्य ४० जना विद्यार्थी पनि ठगिएका छन् । बझाङबाटै अध्ययनको लागि धनगढी पुगेकी सुलोचना कार्की सञ्चालक चौधरी फरार भएपछि पढाई प्रभावित भएको बताउँछिन् । चौधरीले आफूबाट पनि पटक पटक गरी १ लाख रकम लगेको उनको गुनासो छ ।

सञ्चालक चौधरीले विद्यार्थीबाट लाखौं रकम मात्रै लगेनन् उनीहरूको भविष्य माथि नै खेलवाड गरे । सबै विद्यार्थीबाट भर्ना र पढाई शुल्कका नाममा झन्डै १ करोड बराबरको रकम लिई सञ्चालक चौधरी फरार भएको भन्दै विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका छन् । असोज १ गते इन्स्टिच्युटका विद्यार्थीहरूले चौधरी र उनका अर्का साथीविरुद्ध ठगीको मुद्दा दायर गरेका छन् । ‘विद्यार्थीहरूले ठगीको मुद्दा दायर गरे देखि नै प्रहरी खोजी कार्यमा जुटेको छ’ प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले भने ‘अभियुक्त पहिले पनि यस्तै ठगीको आरोपमा पक्राउ परेका थिए ।’ उनका अनुसार चौधरी यसअघि पनि १ सय १८ जना विद्यार्थीलाई ठगी गरेको मुद्दामा पक्राउ परी ९९ लाख धरौटीमा छुटेका थिए । यसपटक पनि ४० विद्यार्थीको भविष्यमा खेलवाड गर्दै उनी फेरि फरार भएका छन् ।

Featured