काठमाडौं, एजेन्सी, असोज ६-आइतबार ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको चुनाव प्रचार गरेको भन्दै भारतीय कंग्रेसका नेताहरुले मोदीको आलोचना गरेका छन्। आइतबार अमेरिकाको ह्यूस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा मोदी सहभागी भएका थिए।
उक्त कार्यक्रममा मोदीलाई भारतीय मूलका ५० हजार अमेरिकी नागरिकले स्वागत गरेका थिए। बीबीसीका अनुसार अमेरिकामा सबैभन्दा बढी व्यक्तिबाट स्वागत पाउने मोदी पहिलो विदेशी पाहुना भएको जनाएको छ।
ह्युस्टनमा आयोजित उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि मोदीसँगै सहभागी भएका थिए। कार्यक्रममा दुवैले एकअर्काको प्रशंसा समेत गरेका थिए। एक अर्काको प्रशंसा गर्ने क्रममा मोदीले सन् २०२० को राष्ट्रपतिय निर्वाचन पनि ट्रम्पले नै जित्ने दाबी गरेका थिए।
मोदीले ट्रम्पले अमेरिकी निर्वाचन जित्ने बताएपछि भारतमा काँग्रेस पार्टीले मोदीको आलोचना गरेको छ।
काँग्रेस पार्टीका नेता आनन्द शर्माले प्रधानमन्त्री मोदी अमेरिकामा ट्रम्पको चुनाव प्रचार मात्र गर्न गएको आरोप लगाएका छन्। पूर्व केन्द्रीय मन्त्री शर्माले मोदीले ट्रम्पको लागि चुनाव प्रचार गरेर भारतको विदेश नीतिको उल्लंघन गरेको बताएका छन्।
शर्माले ट्वीटमा मोदी ट्रम्पको स्टार चुनाव प्रचारक नभएको बताउँदै मोदीले यस्ता कुरामा ध्यान दिनसक्नु पर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस