देश

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

काठमाडौं, असोज ६–साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो ।

मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिए । सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको जानकारी उनले दिए।

उनका अनुसार सो सडकको विस्तार दुई चरणमा गरिने छ । पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्म र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी खण्ड विस्तार गरिने छ । सडक निर्माणका लागि ठेक्का प्रक्रियाको तयारी भइरहेको छ । सो सडकको डीपीआर कोरियन इन्जिनियरिङ कन्सल्ट्यान्टले तयार पारिरहेको छ ।

एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको जानकारी प्रवक्ता सापकोटाले दिए । उनका अनुसार ऋण सहयोगका लागि एडीबीसँग सम्झौताको तयारी भइरहेको छ । आँबुखैरेनीदेखि पोखरासम्म करिब ८० किलोमिटर दूरी पर्छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured