मनोरंजन विदेश

९२ औं ओस्कारमा फिल्म ‘गली बोय’ छनौट

काठमाडौं, एजेन्सी, असोज ५-मुम्बईको धरावी इलाकाको मलिन बस्तीको सडक र्यापरको जीवनीमा आधारित भइ बनाईएको फिल्म ‘गली बोय’ यो वर्षको ओस्करको अन्तराष्ट्रिय फिचर फिल्म विधामा भारतबाट प्रतिस्पर्धा गर्न पठाइने आधारिक फिल्म बनेको छ।

शनिबार ‘फिल्म फेडरेसन अफ इण्डिया(एफएफआई)’ले भारतबाट ओस्कार पठाइने आधिकारिक फिल्मको रुपमा ‘गली बोय’को नाम घोषणा गर्यो।

एफएफआईले गठन गरेको ओस्कार छनौट समितिको नेतृत्व निर्देशक अर्पना सेनले गरेकी थिइन्। शनिबार एक समारोहमा सेनले ‘गली बोय’ छनौट भएको जानकारी दिईन्।

‘छनौटको क्रममा लोकतान्त्रिक प्रक्रिया अपनाइएको थियो। हामीले लामो समय लगाएर सम्भावित सबै फिल्मबारे छलफल ग¥यौं। अन्तिममा हामीले ‘गली बोय’ छान्यौं ,’ सेनले भनिन्।

सेनाको नेतृत्वमा रहेको निर्णायक मण्डलले २८ फिल्ममध्यबाट औपचारिक चयन छनौट गर्नुपर्ने थियो। त्यसमध्य एउटा गुजराती फिल्म ‘चल लेभी लिए’ सुरुमै अयोग्य ठहरिएपछि संख्या २७ पुगेको थियो।

गली बोयको छनौटबारे एफएफआईका अध्यक्ष फिरदोसुल हसनले सकारात्मक प्रतिक्रिया दिएका छन् ,‘ रणभीर सिंह–अलिया भट्ट अभिनित फिल्मको छनौट निक्कै सही छ। निर्णायक मण्डलले जुन मेहनतका साथ काम गरेको छ त्यसको लागि हामी कृतज्ञ छौं।’

‘गली बोय’का निर्माता रितेस सिधवानी र फरहान अख्तर हुन्। फिल्मका निर्माता फरहान अख्तरले एक ट्वीट गर्दै आफूले निर्माण गरेको फिल्म ९२औं ओस्कारमा भारतको औपचारिक चयनको रुपमा छानिएको भन्दै फिल्मसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन्।

Featured