खेलकुद विदेश

वाटफोर्डको पोस्टमा म्यान्चेस्टर सिटीको ८ गोल

एजेन्सी, असोज ५–इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबारराति भएको खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबारराति भएको खेलमा सिटीले वाटफोर्डलाई ८–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिमले पहिलो हाफको १८ मिनेटमा नै ५ गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।

सिटीको जितमा बर्नार्डो सिल्भाले १५, ४८ र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । खेल सुरु भएको ५२ सेकेन्डमा नै डेविड सिल्भाले गोल गरेर सिटीलाई अग्रता दिलाएका थिए । सातौं मिनेटमा सर्जियो अग्युरोले पेनाल्टी मार्फत गोल गरे । यस्तै रियाद महरेजले १२ औँ, निकोलास ओतामेन्डीले १८ औँ तथा केविन डी ब्राउनले ८५ औँ मिनेटमा गोल गरेपछि सिटी फराकिलो जित निकाल्न सफल भयो । ग्वार्डिओलाको नेतृत्वमा सिटीले निकालेको यो सबैभन्दा फराकिलो जित हो ।

जितपछि दोस्रो स्थानको सिटीको ६ खेलबाट १३ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको १५ अंक छ । पुछारको वाट्फोर्डको ६ खेलबाट मात्रै दुई अंक छ । शनिबार राति नै भएको खेलमा टोटनह्याम हट्सपर लेस्टर सिटीसँग २–१ ले पराजित भएको छ । घरेलु मैदानमा टोटनह्यामलाई हराउँदै लेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । यस्तै शेफिल्ड युनाइटेडले एभर्टनलाई र बर्नलीले नर्विचलाई समान २–० ले पराजित गर्दा न्युक्यासल र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Featured