खेलकुद विदेश

ला लिगामा बार्सिलोनाको २५ वर्ष यताकै खराब सुरुवात

एजेन्सी, असोज ५–स्पेनिस ला लिगामा बार्सिलोनाले २५ वर्ष यताकै खराब सुरुवात गरेको छ । स्टार खेलाडी लियोनल मेस्सी र युवा स्ट्राइकर अन्सु फातीसहितको टोली ला लिगामा यसै सिजन बडुवा भएर आएको ग्रानाडासँग २–० ले पराजित भयो । घरेलु मैदानमा भएको खेलमा ग्रानाडाले दुवै हाफमा एक एक गोल गरेको थियो । पहिलो हाफमा बार्सिलोनाको टिममा मेस्सी र फाती थिएनन् । दोस्रो मिनेटमा नै रामोन अजीजले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाए ।

दोस्रो हाफमा मेस्सी र फाती मैदान प्रवेश गरेपनि बार्सिलोनाले गोल फर्काउन सकेन । ग्रानाडाका अल्भारो माडिल्लोले खेलको ६६ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए । बार्सिलोनाले ला लिगामा पछिल्लो २५ वर्षयताकै खराब सुरुवात गरेको हो । उसले सन् १९९४–९५ सिजन यता यस्तो खराब सुरुवात गरेको थिएन । बार्सिलोनको पाँच खेलबाट सात अंक जोडेको छ र लिगको सातौँ स्थानमा छ ।

जितपछि ग्रानाडा पाँच खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । एथ्लेटिको मड्रिड शनिबार राति नै भएको खेलमा सेल्टा भिगोसँग गोलरहित बराबरीमा रोकियो । बराबरीसँगै उसले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।

Featured