खेलकुद विदेश

प्रदेश सरकारले सुरु गर्यो एक विद्यार्थी एक बिरुवा कार्यक्रम

मकवानपुर, असोज ४–सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाइसँगै बिरुवा संरक्षण गर्ने जिम्मेवारी पनि थपिएको छ। प्रदेश ३ सरकारले प्रदेशका सामुदायीक विद्यालयहरुमा यो कार्यक्रम सुरु गरेको र संविधान दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिका आठ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयबाट कार्यक्रम सुरुवात गरिएको छ।

प्रदेश ३ सरकारले ‘एक विद्यार्थी, एक बिरुवा’ कार्यक्रम लागु गरेसँगै सामुदायीक विद्यार्थीको काँधमा बिरुवा बचाउने जिम्मेवारी पनि थपिएको हो। ‘एक विद्यार्थी एक बिरुवा’कार्यक्रमको प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उदघाटन गरेका थिए।

चन्द्रोदय माविबाट सुरु भएको यो कार्यक्रम प्रदेश ३ का सबै सरकारी विद्यालयहरुमा लागु गर्ने वन मन्त्रालयले जनाएको छ।विद्यालय हरीत कार्यक्रममा एक विद्यार्थी एक बिरुवाका लागि मन्त्रालयले १५ डिभिजन कार्यालयमार्फत १३ जिल्लामा १३ हजार २ सय बिरुवा रोप्ने लक्ष्य लिएको सचिव शिवकुमार वाग्ले जानकारी दिए।

कार्यक्रमका लागि मन्त्रालयले २६ लाख ४० हजार बजेट छुट्याएको छ। चन्द्रोदय माविमा एभोकार्डो, लिची, अम्बा, आँप, कटहर, अमला, तेजपात, नास्पाती, हलुवाबेद, रुद्राक्ष लगायतका फलफूल सहितका २ सय वटा बिरुवा रोपिएको छ।

सरकारले २ लाख रुपैयाँ खर्च गरेर बगैंचासहितको बिरुवा रोपेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले जानकारी दिए। कार्यक्रम लागु भएका विद्यालयमा विद्यार्थीको संख्याअनुसार वृक्षारोपण गर्ने र विद्यालयले विद्यार्थीलाई बिरुवा संरक्षणको जिम्मा दिने छ। जिल्लामा रहेको वन कार्यालयमार्फत इच्छुक विद्यालयले बिरुवा माग गरेपछि बगैंचा निर्माण गर्ने गरी फलफूलसहित अन्य बिरुवा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।

Featured