देश

काठमाडौँ उपत्यका कला र सम्पदाले झकिझकाउ बनाइँदै

काठमाडौं, असोज ४–भिजिट नेपाल २०२० मा पाहुनालाई आकर्षित गर्न काठमाडौँ उपत्यकालाई कला र सम्पदाले झकिझकाउ बनाउने काम सुरु भएको छ । काठमाडौँ उपत्यका कलात्मक सहर भनेर यसअघि पनि भन्ने गरिन्थ्यो तर बढ्दो सहरीकरण र आधुनिकीकरणले यहाँको कलात्मकता हराउँदै गएको बेला फेरि पुनर्जागृत गर्ने प्रयास सुरु भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार पर्यटन प्रवर्द्धनमार्फत नेपालको कुल गार्हस्थ उत्पादनमा १० प्रतिशत योगदान पुर्याउने सरकारी लक्ष्य छ । सोहीअनुसार व्यापक प्रचारप्रसारमा रहेको भिजिट नेपाल २०२० सफल बनाउन उपत्यकालाई सुन्दर कला नगरी बनाउने नेतृत्व भने काठमाडौँ महानगरपालिकाले पाएको छ ।

सरकारी योजनाअनुसार धेरैभन्दा धेरै विदेशी पर्यटकलाई उपत्यकामा बास बसाउन, मौलिक आकर्षण दिन नेपाली कला संस्कृतिको प्रत्यक्ष उजागर गर्न खोजिएको काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बताए । “हामीले कलात्मक सुन्दर सहर बनाउन कलाकारलाई नै जिम्मा दिएका छौँ,” शाक्यले भने, ‘उपत्यका सिँगार्नकै लागि दस करोड रुपियाँ बजेट तत्काल विनियोजन भइसकेको छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured