देश

संसदबाट पारित बजेट नआए अर्थमन्त्रीको राजीनामा : कांग्रेस

सुर्खेत, असोज ३–भदौ ३० गते प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले अर्थमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको थियो । यसअघि पाँच पटकसम्म संसद अवरुद्ध गरेको कांग्रेसले सरकारले ल्याएको डल्लो बजेट संशोधन भए पनि अर्थमन्त्रीको झुटका कारण डल्लो नै भएर आएको भन्दै विरोध जनाएको हो ।

भदौ ३० गते १५ मिनेटका लागि स्थगित भएको बैठक असोज ८ गते ३ बजेका लागि तय भएको छ । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीका अनुसार समय अभावका कारण बैठक लामो समयका लागि सरेको हो । ‘प्रतिपक्षले अर्थमन्त्रीको राजीनामा माग गरेको कारण भदौ ३० गते स्थगित बैठक भएको थियो,’ उनले भने, ‘उहाँहरु आफूहरुले राखेको माग पूरा हुनुपर्छ भन्ने अडानमा हुनुहुन्छ । सरकार त्यसैको छलफलमा छ ।’ आगामी असोज ८ गते भने बैठक सुरु हुने उनले बताए ।

कांग्रेस सांसद जीवनबहादुर शाहीले भने माग पूरा नभएसम्म अडानबाट पछि नहट्ने चेतावनी दिएका छन् । ‘हामीलाई अर्थमन्त्रीकै राजीनामा चाहिएको होइन,’ उनले भने, ‘सरकारले डल्लो बजेट ल्याएको कारण संसदमा ठूलै छलफलपछि बजेट बाँडफाँड गर्ने सहमतिमा संसदबाट बजेट पास भएको हो तर अर्थमन्त्रीले संसदलाई नै गुम्नामा राखेर पुरानै बजेट ल्याएकाले हाम्रो गम्भीर आपत्ति छ ।’

आफूहरुको मागमा अहिलेसम्म सरकारसँग सहमति नभएको शाहीले बताए । ‘सहमति भए हाउस चल्थ्यो,’ उनले भने, ‘अन्जानमा गल्ती भयो भनेर अर्थमन्त्रीले माफी माग्नुभएको छ तर हामीले संसदबाट संशोधनसहितको बजेटको माग गरेका छौं ।’

बजेट पास भएको लामो समयसम्म सरकारले बजेटको किताबसमेत निकाल्न नसकेको कारण यही हुनसक्ने उनले बताए । संसदबाट संशोधनसहित पास भएको बजेट नआई अर्थमन्त्रीको बद्मासीमा पुरानै बजेट आएकाले काम गर्न नसक्ने भए राजीनामा दिनु भनिएको शाहीले प्रस्ट पारे । ‘अर्थमन्त्रीका लागि दुईवटा विकल्प छन्,’ उनले भने, ‘एउटा संसदबाट संशोधनसहित पारित गरेको बजेट र अर्को राजीनामा ।’ माग सम्बोधन नभएसम्म संसद कुनै पनि हालतमा चल्न नदिने उनले बताए ।

Featured