देश

प्रदेश ५ सरकारद्धारा ३५ जनालाई पदक दिने घोषणा

बुटवल, असोज ३–प्रदेश ५ सरकारले ३५ जनालाई पदक दिने घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका पदक पाउने व्यक्तिहरुको नामावली पाँचौ संविधान दिवसका अवसरमा सार्वजनिक गरिएको हो । प्रदेश सरकारले प्रदान गर्ने ११ वटा पदक सिफारिस स्वीकृतसमेत गरेको छ । सरकारले बुद्ध शान्ति पदकबाट ३ जना प्रदेश प्रमुख, जनसेवा पदकबाट ५ जना, मुख्यमन्त्री प्रज्वलदीप पदकबाट एकजना, प्रदेश सेवा समर्पण पदकबाट २ जनालाई सम्मान गर्न सिफारिस गरेको छ ।

यस्तै, समाजसेवा श्री पदकबाट ७ जना, प्रदेश रत्न पदकबाट ७ जना, पुथाश्री शिखर पदकबाट एकजना, प्रदेश प्रज्ञा पदकबाट २ जना, प्रजापति गौतमी पदकबाट २ जना र दङगीशरण बलिहाङ पदक बाट ५ जनालाई पदक दिन सिफारिस गरेको हो । प्रदेश सरकारले स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका आधारमा उक्त पदकहरु बाँड्नेछ ।

प्रदेश सरकारले लुम्बिनीको विकासमा योगदान पुर्याएको भन्दै जापानी भिक्षु नावातामेलाई बुद्ध शान्तिपदक (मरणोपरान्त) दिने निर्णय गरेको छ । त्यसैगरी प्रदेश प्रमुख जनसेवा प्रथम पदक साहित्यकार मोदनाथ प्रश्रित, प्रदेश प्रमुख जनसेवा पदक पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुक (मरणोपरान्त) र प्रदेशको प्रथम आवधिक योजना तर्जुमा गर्न योगदान गरेका प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई दिइने भएको छ ।

त्यसैगरी संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लखनीय योगदान गरेको भन्दै रुकुम पूर्वका सूर्य प्रकाश पुन, परम्परा गौतमलाई मरणोपरान्त प्रदेश प्रमुख जनसेवा पदक तृतीय दिने निर्णय प्रदेश सरकारले गरेको छ । यसैगरी, संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लेखनीय योगदान गरेको, आन्दोलनको क्रममा एकै परिवारका ६ जनाले ज्यान गुमाएको भन्दै दाङका भगौता थारुलाई पनि प्रदेश प्रमुख जनसेवा पदक तृतीय प्रदान गर्ने निर्णय भएको छ ।

प्रदेशको विकासमा योगदान गरेको भन्दै दाङका स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई मुख्यमन्त्री प्रज्जवलद्वीप पदक प्रथम दिने निर्णय भएको छ । त्यसैगरी, प्रदेशको प्रमुख सचिवको रुपमा उत्कृष्ट काम गरेका डा. तीर्थ ढकाललाई प्रदेश सेवा समर्पण प्रथम र प्रदेशसभा सचिवको रुपमा काम गरेका सुरेन्द्र अर्याललाई प्रदेश सेवा समर्पण पदक द्वितीय दिने निर्णय प्रदेश मन्त्रिपरिषदले गरेको छ ।

पत्रकारितामा योगदान गरेका दाङका नारायणप्रसाद शर्मालाई समाजसेवाश्री प्रथम प्रदान गरिने छ भने समाजसेवाश्री द्वितीय गुल्मीका शमशेरबहादुर खत्री (मरोणाप्रान्त), संस्कृत शिक्षा विकासको क्षेत्रमा विशिष्ट योगदान गरेकी दाङकी हिमा उपाध्यायलाई (मरणोपरान्त) र प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गरेका बाँकेका अशोककुमार क्षेत्रीलाई दिइने भएको छ ।

त्यसैगरी, ‘समाजसेवाश्री पदक तेश्रो’ दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेका डा. लेखराज सुवेदी, समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान गरेका पाल्पाका घण्टप्रसाद अर्याल, स्वास्थ्य क्षेत्रमा उल्लेखयनीय योगदान गरेका गौतमबुद्ध मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले पाउने भएका छन् ।

थारु भाषा साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत दाङका महेश चौधरीलाई प्रदेश रत्न प्रथम, शिक्षा र सामाजिक क्षेत्रमा योगदान गरेका गुल्मीका परमानन्द भण्डारीलाई प्रदेश रत्न द्वितीय (मरणोपरान्त), कृषि क्षेत्रमा विशिष्ट योगदान गरेका रुपन्देहीका सिपी शर्मा र शशीधर पौडेललाई प्रदेश रत्न द्वितीय पदक प्रदान गरिने छ ।

त्यसैगरी प्रदेश रत्न तृतीय पदक पाउनेमा भाषा साहित्यबाट कपिलवस्तुका डा. विष्णुराज आत्रेय, चित्रकला र मूर्तिकला क्षेत्रबाट रुपन्देहीका नर्वु लामा, शिक्षा क्षेत्रबाट अर्घाखाँचीका बुद्धिबहादुर रायमाझी, अल्लो उद्यम व्यवसायमा उल्लेखनीय योगदान गरेकी चित्रकली बुढा, खेलकुद क्षेत्रमा योगदान गरेका गुल्मीका सोमपाल कामी रहेका छन् । यसैगरी, पुथाश्री शिखर द्वितीय पदक पर्यटन क्षेत्रमा योगदान गरेका बाँकेका कृष्णलाल चौधरीले पाउने छन् ।

प्रदेश प्रज्ञा द्वितीयबाट लुम्बिनी वाणिज्य क्याम्पस र प्रदेश प्रज्ञा तृतीयबाट रेसुङ्गा माध्यमिक विद्यालयलाई विभुषित गर्ने निर्णय गरिएको छ । प्रजापति गौतमी तृतीयबाट महिला सशक्तिकरणको क्षेत्रबाट दाङकी पिमकुमारी गिरी र रोल्पाकी भागिरथी घर्तीलाई प्रदान गर्ने निर्णय भएको छ । दङ्गीशरण बलिहाङ प्रथमबाट थारु भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका सगुनलाल चौधरी (बेपत्ता), दङगीशरण बलिहाङ द्वितीयबाट मगर भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका जितबहादुर थापा मगर (मरणोपरान्त)लाई दिने निर्णय भएको छ ।

त्यसैगरी दङ्गीशरण बलिहाङ तृतीयबाट थारु भाषा प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेका बर्दियाका एकराज चौधरी, उर्दु भाषाको क्षेत्रमा उल्लेख्य योगदान गरेका बाँकेका अब्दुल लतिफ सौफ र अवधि भाषा साहित्यमा योगदान गरेका नवलपरासीका कौशलेन्द्र श्रीवास्तवलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

Featured