देश

वर्षा भएपछि डेंगुका बिरामी घटे

चितवन, असोज ३–भदौको तेस्रो र चौथो साता अत्यधिक देखिएको डेंगु रोगको संक्रमण घटेको छ । साउन पहिलो साताबाट क्रमशः बढ्दै गएको डेंगु रोगको संक्रमण पछिल्लो एक साता दैनिक रूपमा घट्दै आएको चिकित्सकले जनाएका छन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत भदौ २२ गते एकैदिन १ हजार ९ सय २२ जना बहिरंग सेवामा आएकामध्ये ९ सयजना मेडिकल विभागमा रहेकामा धेरैलाई डेंगु संक्रमण देखिएको पौडेलले बताए ।

मेडिकल विभागका प्रमुख डा. प्रकाश खतिवडाका अनुसार त्यस दिन १ हजार २ सय ३० जना बिरामी हेरिएको थियो । त्यसपछिका दिनहरुमा क्रमशः बिरामी घट्दै गएको उनले जानकारी दिए । बिहीबार अस्पतालको बहिरंग सेवामा १ हजार ३ सय बिरामी आएकामध्ये ५ सय हाराहारी मात्रै मेडिकल वार्डमा आएका थिए । तिनीहरुमध्ये ३ सय जतिलाई ज्वरो आए पनि केहीलाई मात्र डेंगुको संक्रमण देखिएको डा. खतिवडाले बताए ।

भदौ चौथो सातापछि क्रमशः संक्रमितको संख्या घट्दै गएको उनले बताए । पछिल्ला दिनहरुमा संक्रमण भएका बिरामी घटेको भन्दै उनले वर्षा बन्द भएसँगै आइतबार र सोमबार हेरेर संक्रमण दर भन्न सकिने बताए । आगामी कात्तिकसम्म डेंगुको संक्रमण देखिने उनले बताए ।

अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले भर्ना भएका सयजना बिरामीमध्ये ६० जना ज्वरोका हुन् र तिनीहरुमध्ये ६० प्रतिशतसम्म डेंगुका हुने गरेकामा अहिले घटेर १५ देखि २० प्रतिशतमा झरेको बताए । यद्यपि मौसमी ज्वरो भने रहिरहेको उनको भनाइ छ ।

लगातार परेको वर्षाले तापक्रम घटेका कारण डेंगुको संक्रमण पनि घट्ने अपेक्षा गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउनयता बिहीबारसम्ममा जिल्लामा बिरामीको संख्या २ हजार ५ सय १५ जना पुगेको छ । ८ हजार २ सय २१ जनाको रक्त परीक्षणका क्रममा त्यति संक्रमित भेटिएका हुन् । (रासस)

Featured