देश

संविधान दिवसमा प्रदेश सरकारद्धारा विविध कार्यक्रम(फोटो फिचरसहित)

विराटनगर, असोज ३–संविधान दिवसको अवसरमा १ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरेको छ । प्रदेश १ सरकारले संविधान दिवस भव्यरुपमा विराटनगरको सहिद मैदानमा मनाएको छ । दिवसका अवसरमा विराटनगरका विभिन्न स्थानबाट विभिन्न समुुदाय आ–आफनो पहिरनमा कलश यात्रासहित कार्यक्रमस्थलमा सहभागी भएका थिए ।

विराटनगरको शहीद रंगशालामा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले मार्चपाससहित गीत र नृत्य प्रस्तुत गरेका थिए ।

संविधान दिवसलाई सफल बनाउन धिमाल, राई, लिम्बू, सतार, बाँतर, थारु, नेवार समुदायसहित बालबालिकाहरुले पनि झाँकी प्रदर्शन गरेका थिए । उत्कृष्ट झाँकी प्रदर्शन गर्नेहरुलाई पुरस्कृत पनि गरिएको छ ।

समारोहमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माइला अर्थात प्रदिपकुमार राई, २४ पटक सगरमाथा आरोहण गरेर विश्वकृतिमान कायम गर्न सफल कामिरिता शेर्पा र अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई नगद ५÷५ लाखसहित सम्मान गरिएको छ ।

उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले सम्मान गरेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संविधानको मर्म अनुसार मुलुकको समृद्धि र विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।

Featured