देश

राजेन्द्र महतोद्धारा सरकारको चर्को आलोचना

काठमाडौँ, असोज २–राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । संघीय संसदको चौथो अधिवेशन अन्त्य हँुदै गर्दा प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राजपाका सांसद महतोले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएर पनि डेढ वर्षसम्म पनि संविधान संशोधन नगरिएकोमा गम्भीर असहमति जनाएका हुन्।

उनले संविधान संशोधन नभए यसअघिका संविधान जस्तै संघीय संविधान पनि फाल्नुपर्ने अवस्था श्रृजना हुने भन्दै त्यसतर्फ गम्भीर बन्न चेतावनी दिए । सरकारले दिपावलीको उर्दी जारी गरेर दिपावली नहुने भन्दै उनले संविधानदिवसको दिन ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने चेतावनी दिए । संविधानलाई असफल बनाउने र प्रहार गर्ने काम सरकारकै क्रियाकलापबाट भएको दाबी पनि उनले गरे ।

निर्मला हत्या प्रकरण, वाईडवडी, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण लगायतका घटनाका दोषीलाई कारवाही नभएकोमा पनि उनले सरकारको ध्यानाकर्षण गराए । उनले सरकारमै सहभागी भएको पार्टीले संविधान दिवस नमनाएपछि सरकारमाथि नै बैधानिकताको प्रश्न उठेको टिप्पणी गरे । उनले समाजवादी पार्टीका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई संविधान दिवस नमनाउने भनेर सरकारमै बसिरहन नमिल्ने भन्दै धारणा स्पष्ट पार्न आग्रह गरे ।

Featured