देश

साकेलाको एउटै वडामा दुई करोडको आलु उत्पादन

खोटाङ, असोज २–जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यस वर्ष मात्रै २ करोड रूपैयाँभन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो ३० रूपैयाँमा घरबाटै बिक्री हुने आलु यस वर्ष २ करोड २३ लाख १२ हजार ५ सय रूपैयाँभन्दा बढीको उत्पादन भएको हो ।

लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ मुरी आलु उत्पादन भएको स्थानीय किसान गोविन्द तामाङले बताए । ‘खिदिमामा ४२५ घरधुरी स्थानीयवासी बसोवास गर्छन्,’ उनले भने, ‘अन्य बाली खासै नहुने खिदिमामा प्रत्येक घरले कम्तीमा पनि २५ मुरी आलु उत्पादन गर्छन् ।’

खिदिमामा यसवर्ष साढे सात हजार क्विन्टलभन्दा बढी आलु उत्पादन भएको साकेला गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । ‘आलुबाट मात्रै प्रतिघर सरदरमा ४३ हजार ७५० रूपैयाँभन्दा बढी आम्दानी गरेका छन्,‘ उनले भने, ‘पहिलो बालीका रूपमा लगाइने आलु खेतीलाई थप प्रवर्द्धन गर्न गाउँपालिकाका तर्फबाट गत वर्ष २ लाख रूपैयाँ अनुदान उपलब्ध गराइएको थियो ।’

समुद्री सतहदेखि करिब दुई हजार फिट अग्लो भू(भागमा पर्ने खिदिममा उत्पादन भएको आलु जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ४० मा खरिद तथा बिक्री हुने गरेको छ । खिदिमाको आलु कम्पोस्ट मल प्रयोग गरेर उत्पादन गरिएकाले खरिद गर्नेको लुछाचुँडी नै चल्ने गरेको पाइएको छ ।

खिदिमाको आलु अर्गा्निक भएकाले पनि उपभोक्ताको माग सबैभन्दा बढी रहेको दिक्तेलका व्यापारीले बताएका छन् । गाउँमा खासै बिक्री नहुने आलु स्थानीयवासीले गाडीमा हालेर दिक्तेल बजार तथा बाहिरी जिल्ला निर्यात गर्ने गरेका छन् ।

यसअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय खोटाङले खिदिमालाई आलुको पकेट क्षेत्र घोषणा गरेर प्रवर्द्धनको काम थालेको थियो । देशमा संघीयता लागु भएसँगै साकेला गाउँपालिकाले पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।

आलु उत्पादक किसानलाई संगठित गरेर टोलटोलमा समूहसमेत गठन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गठन गरेको साकेला सोकी किसान समूहले गत वर्ष भस्मे फाँडेर रोपेको ठाउँबाट मात्रै १ सय मुरीभन्दा बढी आलु उत्पादन भएको कृषि शाखा प्रमुख राईले बताए ।

एक मुरीमा २० पाथी हुन्छ । पाथीमा साढे तीन किलो हुने किसानले बताएका छन् । गाउँघरमा पाथीको हिसाबले खरिद(बिक्री हुने गरेको छ । खिदिमामा पंखदले, खम्बुले, ठ्यांग्रे, भोटांग्र, धरानेजस्ता रैथाने प्रजातिका आलु उत्पादन हुने गरेको छ । रैथाने प्रजातिको आलु अहिले बजारमा आएको अन्य नयाँ प्रजातिको भन्दा स्वादिलो र पोसिलो हुने किसानको दाबी छ ।

खिदिमालगायत माथिल्लो भेगमा आलुको पकेट क्षेत्र घोषणा गरेर प्रवर्द्धनको काम सुरु गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झंकार’ ले बताए । ‘आलुका लागि हाम्रो गाउँपालिकालाई भूगोलले साथ दिएको छ,’ उनले भने, ‘यसलाई व्यवस्थित र प्रवर्द्धन गर्न गत वर्षदेखि नै योजना बनाएर अगाडि बढेका छौँ ।’

साकेला गाउँपालिकाको खिदिमा, रतन्छा, बाँझेच्यानडाँडा, मात्तिमलगायत माथिल्लो भेगमा आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाले एक वडा, एक कृषि उत्पादनको नीति बनाएर अगाडि बढेको र खिदिमालाई आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका प्रमुख खड्काले बताए ।

पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशपक्षीपालनलगायत फरकफरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान सुरु गरिएको छ । हरेक वडामा भूगोलअनुसार फरक–फरक व्यवसायका लागि किसान समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ ।

वडास्तरमा २९ वटा किसान समूह गठन गरेर प्रवर्द्धनमा लागेको गाउँपालिकाले हरेक किसान समूहलाई आवश्यक सीप तथा तालिमका साथै बीउबिजन, उन्नत जातका पशुपक्षी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । व्यावसायिक कृषिलाई जोड दिँदै आएको गाउँपालिकाले गत वर्ष ५३ लाख रूपैयाँ र स्विस सरकारअन्तर्गत हेल्भेटासले ४५ लाख २८ हजार रूपैयाँ गरी जम्मा ९८ लाख २८ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो । (रासस)

Featured