देश

रुग्ण जलविद्युत् आयोजनालाई सरकारको उपेक्षा :ऊर्जा उद्यमी

काठमाडौं, असोज १–देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको जलविद्युत् आयोजना सरकारको बेवास्ताका कारण दयनीय अवस्थामा पुगेको ऊर्जा उद्यमीहरुले दुखेसो गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले बुधबार राजधानीमा आयोजना गरेको ‘जलविद्युत् आयाजनाहरुको अवस्था र लगानीमैत्री वातावरण’ विषयक कार्यक्रममा ऊर्जा उद्यमीहरुले सरकारी उपेक्षाका कारण निजी क्षेत्रको लगानी जोखिममा परेको बताए ।

जलविद्युत् क्षेत्रमा लगानी बढाउन सरकार लागिपरिरहे पनि ठूलो पूँजी लगानी गरेर दयनीय अवस्थामा पुगेका आयोजनालाई उठाउन सरकारले कुनै अपनत्व नलिएको उनीहरुको भनाइ छ । निजी क्षेत्रले जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्र्यउन नपाउने व्यवस्थाले झनै संकट बढाएको उनीहरुले बताए ।

रुग्ण अवस्थामा पुगिसकेका आयोजनाले पनि पेनाल्टी तिर्नुपर्ने बाध्यकारी व्यवस्थाले व्यवसायी थप पीडित बनेको उद्यमीहरुको गुनासो छ । सबैभन्दा ठूलो समस्या बैंकको ब्याजका कारण निम्तिएको इपानका उपाध्यक्ष कुमार पाण्डेले बताए । ‘७ प्रतिशत ब्याजमा लिएको ऋण अहिले बढेर १३ देखि १४ प्रतिशत हाराहारी पुगेको छ,’ उनले प्रश्न गरे, ‘यस्तो अवस्थामा कसरी व्यवसाय चलाउन सकिन्छ ?’

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ऊर्जा उत्पादक कम्पनी रुग्ण बन्नुमा भ्रष्टाचारका साथै उद्यमीमा ऊर्जा उत्पादनभन्दा बढी लाइसेन्स बेच्ने प्रवृत्ति हावी भएको तर्क गरे । त्यस्तै पूर्वअर्थमन्त्री रामशरण महतले ऋणको ब्याजदर घटाए मात्रै ऊर्जा उत्पादन कम्पनीले फस्टाउने मौका पाउने बताए ।

अहिले मुलुकमा सञ्चालित ८३ आयोजनामध्ये ६६.६५ मेगावाटका २० वटा रुग्ण जलविद्युत आयोजना छन् । यी आयोजना बैंकको ब्याज तिर्न नसकेर लिलामीको अवस्थामा पुगेका छन् । त्यस्ता आयोजनाले बैंकको वार्षिक ब्याजको ५५ प्रतिशतमात्रै आम्दानी गर्ने गरेको इपानले जनाएको छ । त्यस्तै कमजोर अवस्थाका २८ र नाजुक अवस्थाका १८ आयोजना रहेको तथ्य इपानले प्रस्तुत गरेको छ ।

Featured