देश

सरकार मन नपर्दा व्यवस्था विरुद्धनै आन्दोलन : मन्त्री बाँस्कोटा

विराटनगर, असोज १–सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकार मन नपर्दा व्यवस्था विरुद्ध नै आन्दोलन हुने गरेको बताउनु भएको छ । आफूले निर्वाचीत गराएको संस्थालाई खवरदारी गर्ने अधिकारी नागरिकलाई हुने बताउँदै उनले सरकारको आलोचना गर्ने नाममा केही तत्वले मुलुकको व्यवस्था विरुद्ध नै आन्दोलन गर्न थालेको जिकिर गरे ।

प्रेस संगठन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारको आलोचना गर्ने बहानामा लोकतन्त्र र गणतन्त्रलाई खतरामा पार्ने प्रयास भइरहेको दावी गरे । कोही कसैले लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्था परिवर्तन गरेर मुलुकलाई अधिनायकवादतर्फ लैजान खोज्छ भने त्यो दिवा सपना मात्रै हुने उनको भनाइ थियो । काम गर्ने क्रममा सरकारबाट भएका सामान्य कमजोरी र छिद्र तथा जनताको असन्तुष्टिमा खेलेर इतिहासको सबै कुनाबाट पराजित भइसकेको व्यवस्थालाई ल्याउन खोज्नु मुर्खता हुने बाँस्कोटाले बताए ।

‘अहिलेको व्यवस्था स्थापित गर्न जनताले रगत, आँसु र पसिना बगाउनु परेको थियो,’ उनले भने, ‘सबै कुरासँग साटेर ल्याएको व्यवस्था रक्षा गर्न जनताले जानेका हुन्छन् र परिवर्तन गर्न कोही लाग्छ भने त्यसको जवाफ जनताले नै दिनेछन् ।’ नागरिकको अपेक्षा र सरकारको गराईकाबीचमा सधैं खाडल हुने गरेको बताउँदै मन्त्री बाँस्कोटाले सरकारले क्रमस अपेक्षा पूरा गर्दै जाने र लोकतन्त्रको विकल्प लोकतन्त्रनै हुने कुरा जनताले बुझिसकेको उल्लेख गरे ।

सरकारले गल्ती गर्दा त्यसको सजाय जनताले दिने भएकाले हुँदै नभएको कुरा झिकेर कुर्लनुको कुतै तुक नभएको उनको भनाइ छ । कांग्रेसप्रति लक्षित गर्दै उनले जनताको म्यान्डेड लिएर आएका कारण सरकार जनताप्रति उत्तरदायी रहेको बताए । नेकपालाई जिम्मेवारी दिएर पठाएका कारण सरकारले कांग्रेसको भन्दा जनताका विकास निर्माण र अन्य मुद्दा उठाउने बताउँदै मन्त्री बाँस्कोटाले कांग्रेसले डेमोक्रेसीका विषयमा उठाएको मुद्दाको कुनै अर्थ नभएको स्पष्ट पारे ।

Featured