देश

माछापुच्छ्रे बैंकको १९औं वार्षिकोत्सवमा १९ प्रकारकै छुट दिने घोषणा

काठमाडौं, असोज १–माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेवाग्राहीहरूलाई १९ प्रकारका छुट दिने घोषणा गरेको छ । बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसर पारेर १९ नै प्रकारका छुट योजना एक महिनासम्म सञ्चालन गर्ने घोषणा गरेको जानकारी दिएको हो ।

वार्षिकोत्सवको अवसर पारेर बैंकले हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै आफ्ना सेवाग्राहीहरूलाई विभिन्न छुटहरू दिँदै आइरहेको छ । यस वर्ष पनि बैंकले सोही कार्यलाई निरन्तरता दिँदै असोज महिनाभरि १९ प्रकारका छुट सुविधा दिने भएको हो ।

बैंकका अनुसार उक्त योजनामा सेवाग्राहीहरूले असोज महिनाभर निःशुल्क डेबिट कार्ड पाउन सक्नेछन् भने डिम्याट खाता तथा मेरो सेयर खाता पनि निःशुल्क रूपमा खोल्न सक्नेछन् ।

त्यस्तै, माछापुच्छ्रे महोत्सवअन्र्तगत देशभरका भाटभटेनी सुपरमार्केटहरूमा माछापुच्छ्रे बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक अफर, लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जनाभन्दा बढीको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आईएनआररयूएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुटलगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ ।

यस्ता सुविधाहरू बैंकका देशभर रहेका शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले वार्षिकोत्सवको अवसर पारेर ल्याइएका ती सुविधाहरूबाट भरपूर फाइदा उठाउन आफ्ना सम्पूर्ण सेवाग्राहीहरूलाई आग्रहसमेत गरेको छ । स्थापनाको २०औं वर्षमा पाइला टेक्दा बैंकले हालसम्म १ सय ३७ वटा शाखाकार्यालय, १ सय २८ वटा शाखारहित बैंकिङ सेवा, १ सय ६० वटा एटीएम काउण्टरमार्फत आफ्ना सेवाग्राहीहरूलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Featured