देश

सुदूरपश्चिममा स्क्रब टाइफस र डेंगुको संक्रमण फैलिँदै

Original Title: Aa_FC3_58a.jpg

डडेल्धुरा, असोज १–सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफस र डेंगुको संक्रमण फैलिँदै गएको छ । मंगलबार बेलुकीसम्म १ सय ४ जनामा स्क्रब टाइफस र ५० जनामा डेंगुको संक्रमण देखिएको छ । प्रदेशको डडेलधुरामा सबैभन्दा बढी ५० जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ भने बाजुरामा बिरामी फेला नपरेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो १ महिनाको अवधिमा ५० जनामा स्क्रब टाइफस रोगको संक्रमण देखा परेको डडेलधुरा अस्पतालका ल्याब इन्चार्ज ईश्वरी भुसालले दिए । ‘देशको पूर्वी क्षेत्रमा डेंगुले सताएको छ, यहाँ भने धमाधम स्क्रब लक्षण भएका बिरामी फेला पर्न थालेका छन्,’ उनले भने ‘अब त २ जना डेंगुका बिरामीसमेत फेला परेका छन् । सबैले सजकता अपनाउन जरुरी देखिन्छ ।’

सुदूरपश्चिम प्रदेशको ठूलो डडेलधुरा अस्पतालमा अहिले दैनिकजसो स्क्रब टाइफसको लक्षण देखापर्ने गरेको डडेल्धुरा अस्पतालमा कार्यरत डा.जीवन खरेलले जानकारी दिए । ‘आजभोलि दैनिकजसो २ सय ५० देखि ३ सय बिरामीहरू चेकजाचँ गर्न आउँछन्,’ उनले भने, ‘त्यसमध्ये २५ देखि ३० जनामा स्क्रब टाइफसको लक्षण देखिएको छ । परीक्षण गर्ने किट सकिएको थियो, फेरि किट मगाएर परीक्षण थाल्दैछौं ।’

सोमबार बेलुकीसम्म ७८ जनामा स्क्रब टाइफस र ४८ जनामा डेंगुको संक्रमण देखिएकोमा मंगलबार साँझसम्म १ सय ४ जनामा स्क्रब टाइफस र ५० जना जनामा डेंगुको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए । कैलालीमा २८ जना, बैतडीमा १२ जना, डोटीमा ४ जना, कञ्चनपुरमा ५ जना, बझाङमा ३ जना र दार्चुलामा २ जनामा स्क्रब टाइफस देखिएको मन्त्रालयले जनाएको छ ।

डेंगुका बिरामी सबैभन्दा बढी कैलालीमा देखिएका छन् । कैलालीमा २३ जना, बैतडीमा १ जना, डोटीमा २ जना, कञ्चनपुरमा ९ जना, बझाङमा १ जना र दार्चुलामा ९ जनामा डेंगु देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Featured