देश

गाउँपालिकाको एकमात्र अस्पताल हेल्थ असिस्टेण्टको भरमा

डडेल्धुरा, असोज १–डडेल्धुराको आधा जति जनसंख्या रहेको भित्री मधेस क्षेत्रमा रहेको जोगबुढा अस्पताल हेल्थ असिस्टेण्टको भरमा चलेको छ । १५ शैय्याको जोगबुढा अस्पताल चिकित्सकविहीन बनेसँगै सुनसान बनेको छ । भित्री मधेस जोगबुढाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको प्रमुख उपचार केन्द्रका रूपमा रहेको जोगबुढा अस्पतालमा रहेका एक मात्र चिकित्सक करुणा वज्राचार्य समायोजन भएर गएपछि अस्पताल चिकित्सकविहीन भएको हो ।

चिकित्सक वज्राचार्य समायोजन भएर गएको करिब ३ साता भएको छ । उनी गएसँगै अस्पताल ३ सातादेखि चिकित्सकविहीन बनेको हो । एक जना नवौं तह र दुई जना मेडिकल अधिकृतको दरबन्दी रहेको सो अस्पताल अहिले हेल्थ असिस्टेण्टको भरमा संचालन भइरहेको छ ।

देशैंभर डेंगु, स्क्रब टाइफस र भाइरल ज्वरोका बिरामीको चाप बढेको समयमा जोगबुढा अस्पताल चिकित्सकविहीन हुँदा बिरामीलाई उपचारका लागि समस्या भइरहेको छ । सो अस्पतालमा परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिकाको रूपाल क्षेत्रलगायतका सेवाग्राही आउने गर्दछन् ।

आजभोलि दैनिक रूपमा १ सयदेखि ढेड सय जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका हेल्थ असिस्टेण्ट एवं निमित्त प्रमुख तारादत्त बोहराले बताए । समायोजनमा सरुवा भएर गएपछि अहिले अस्पताल चिकित्सकविहीन बन्दा उपचार गर्न समस्या भइरहेको उनको भनाइ छ ।

अस्पतालमा चिकित्सक नहुँदा यस क्षेत्रका बिरामी उपचारका लागि धनगढी, महेन्द्रनगरलगायत भारत जान बाध्य भएका छन् । भाइरल ज्वरोका बिरामीको चाप बढेको भए पनि जोगबुढा अस्पतालमा चिकित्सक नहुँदा अस्पतालका शैय्या खाली रहेका छन् ।

समायोजन भएर सरुवा भएर चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी भएको तर जोगबुढा अस्पतालमा कोही नआएकाले अहिले समस्या भइरहेको परशुराम नगरपालिकाका नगरप्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष भीमबहादुर साउदले बताएका छन् । बारम्बार चिकित्सकको माग गरिए पनि अहिलेसम्म अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी नआएको उनले बताएका छन् ।

Featured