NRNA खबर

गैरआवासीय नेपाली संघ(एनआरएनए) को महिला संयोजकमा मरहट्टाको उम्मेद्वारी घोषणा

काठमाडौँ, भदौ ३१–गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको महिला संयोजकमा अभियान्ता संगीता मरहट्टाले उम्मेद्वारी दिने घोषणा गरेकी छन् । लण्डनमा बसोबास गर्दै आएकी सञ्चारकर्मी समेत रहेकी मरहट्टाले आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा आफ्ना भावी योजनासहित उम्मेदवारीको घोषणा गरेकी हुन् ।

मरहट्ठा हाल युरोप क्षेत्रीय महिला उपसंयोजक हुन भने बीबीसी नेपाली सेवाकी पूर्व पत्रकार समेत हुन् । संघमा महिलाहरुको सशक्त उपस्थितिलाई बढावा दिँदै नेपाल तथा डायस्पोरामा रहेका महिलाहरुको ज्ञान, सीप र अनुभव समेतलाई समेटेर महिलाहरुको आर्थिक स्वावलम्वन, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा एनआरएनए महिला फोरममार्फत विविध योजनाहरु समेटेर आफु अघि बढ्ने प्रतिवद्धता सहित मरहट्टाले उम्मेद्वारी घोषणा गरेकी हुन् । उनले सञ्चारकर्मी, व्यवसायी तथा विगत एक दशक लामो एनआरएनए संगको संलग्नताको अनुभवका आधारमा महिला संयोजकको भूमिकालाई कूशलताका साथ निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएकी छन् ।

बीबीसी नेपाली सेवा, लन्डनमा लामो समय सम्म काम गरिसकेकी मरहट्टा उच्च शिक्षाका सिलसिलामा १९ बर्षअघि बेलायत पुगेकी थिइन् । पेशाले पत्रकार रहेकी उनले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथाबाट रेडियो पत्रकारिताको शुरुवात गरेकी हुन् । त्यसअघि उनी छापा पत्रकारितामा संलग्न थिइन् ।

बेलायतको थमसन फाउन्डेशनमा उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा गरेकी मरहट्टाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर सम्मको अध्ययन गरेकी छन् । उनले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा समेत स्नातक गरेकी छन् ।

लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित मरहट्टाले आफ्नो लेखनलाई पनि निरन्तरता दिँदै आएकी छिन् । गैरआवासीय नेपाली  संघको अभियानमा शुरुदेखि आवद्ध रहँदै आएकी मरहट्टा सन् २०११ मा एनआरएनए युकेको कार्यकारी सदस्य तथा महिला संयोजकको भूमिकाबाट औपचारिक रुपमा संघमा आबद्ध भएकी हुन् ।

एनआरएनए युकेको महिला संयोजक हुदा उनले एनआरएनए युकेमा पहिलोपटक नारी दिवस मनाउने परम्पराको शुरुवात लगायतका महत्वपूर्ण कामहरु गरेकी छिन् । उनले आफु सो पदमा निर्बाचीत भएको खण्डमा विगतका अनुभवका आधारमा इमान्दारिताका साथ जिम्मेवारी वहन गर्ने प्रतिवद्धता समेत जनाएकी छन् ।

Featured