विदेश

’आइफा रक्स’मा कटरिनाको ‘हट’ अवतार

एजेन्सी, भदौ ३१–भारतको प्रतिष्ठित चलचित्र अवार्ड आइफाको २०१९ संस्करणको तयारी धूमधाम भइरहेको छ । बुधबार मुम्बईमा हुने आइफा अवार्डको प्रारम्भिक इभेन्ट ‘आइफा रक्स २०१९’ मंगलबार आयोजना गरिएको थियो । आइफा रक्समा बलिउडका थुप्रै कलाकारको सहभागिता थियो । आइफा रक्समा सहभागी हुँदाको कटरिना केफका तस्वीरले बलिउड नगरिमा धेरैको ध्यानाकर्षण गरेको छ । कार्यक्रममा बलिउड अभिनेत्री कटरिना केफ अरुभन्दा फरक भएर पुगेकी थिइन् ।

उनी रेड ब्याकलेस गाउनमा निकै सुन्दर देखिएकी थिइन् । सो पहिरनमा कटरिनाका तस्बिरहरू यतिबेला विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । कटरिना केफसँगै अर्का अभिनेता विक्की कौशल पनि सोही चर्चामा आएका छन् । उनी पनि आइफा रक्समा ‘हट’ अवतारमा प्रस्तुत भएर चर्चामा आएका हुन् ।

बलिउडका एलिट कार्यक्रममा सेलिब्रिटीका पहिरनले निकै चर्चा पाउने गरेको छ । कटरिना र विक्कीको चर्चा पनि त्यही ट्रेन्डको उपज हो ।
आइफा रक्सको ग्रिन कार्पेटमा कटरिना र विक्कीका अलावा रकुलप्रित सिंह, राधिका आप्टे, अलि फैजल, ऋचा चड्डालगायतका कलाकार देखिएका थिए । आइफा रक्सको उद्घोषकका रूपमा राधिका आप्टे र अलि फैजलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Featured