देश

बुधबार र बिहीबार पनि देशका विभिन्न भागमा पानी पर्ने क्रम जारी रहने

काठमाडौं, भदौ ३१–जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले बुधबार र बिहीबार पनि देशका विभिन्न भागमा पानी पर्ने क्रम जारी रहने जनाएको छ ।दुई दिनसम्म अविरल वर्षाको सम्भावना रहेको भन्दै विभागले यी दुई दिन पूर्वदेखि मध्यपश्चिमका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आव्हान गरेको छ ।

शाखाले कोशी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, अरूण, तिनाउ, वाणगंगा, मनहरी, लोथरखोला, लालबकैयालगायत मकवानपुर बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ भएर बग्ने नदीमा बहावले सतर्कता तह पार गर्न सक्ने बताएको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले मुलुकभर बदलीसँगै वर्षा भइरहेको हो । भारतको उडिसा र पश्चिम बङ्गालआसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मुलुकभर मनसुनी गतिविधि बढिरहेको मौसमविदहरूले जनाएका छन् ।

मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाण, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गालको खाडीलाई बुझिन्छ । मंगलबार मुलुकभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर्षा भएको महाशाखाले जनाएको छ ।

यसैबीच, नवलपरासी डण्डास्थित वर्षामापन केन्द्रमा मंगलबार भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकाले डण्डा, कावासोती र आसपासको गिरिउवारीलगायत अन्य स–साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्ने शाखाले जनाएको छ ।

उसले त्यस क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । यसैगरी कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तहआसपास पुग्न सक्ने सम्भावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

मंगलबार काठमाडौं उपत्यकामा १० मिलिमिटर वर्षा भइसकेको छ । पोखरामा ७६ मिलिमिटर, दाङमा १५ मिलिमिटर, सिमरामा ५ मिलिमिटर, नेपालगञ्जमा ३७ मिलिमिटर र विराटनगरमा १५ मिलिमिटर वर्षा भएको छ ।

Featured