देश

ज्ञानेन्द्र शाहीलाई कारवाही गर्न सांसदको माग

काठमाडौं, भदौ ३१–राष्ट्रिय सभाका सांसद चक्रप्रसाद स्नेहीले ‘देशका प्रधानमन्त्री, पार्टीको अध्यक्ष र जनप्रतिनिधिलाई खान नपाएका भोका भतुवाहरू भत्ताका निम्ति बाँचेका हुन्’ भन्दै गाली गरेको भन्दै ज्ञानेन्द्र शाहीलाई कारबाही गर्न माग गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सत्तारुढ सांसद स्नेहीले जथाभावी बोल्दै हिँड्ने मान्छेलाई कारबाही गर्न सरकारको धारणासमेत माग गरे ।

‘ज्ञानेन्द्र शाही भन्ने को महामानव हुन् ? म चिन्न चाहन्छु । जसले यो देशको राष्ट्रपति, प्रधानमन्त्री र सरकारलाई ‘हिजडा’को संज्ञा दिन्छ’, स्नेहीको प्रश्न थियो, ‘पार्टीका विशिष्ट नेतालाई भ्रष्टाचारीको संज्ञा दिँदै हिँड्ने ती महामानवले कसलाई भ्रष्टाचारी प्रमाणित गरेर जेलमा हाल्ने ?’

सांसद खिमकुमार विश्वकर्माले जनताले जंगलबाट निगुरो टिपेर ल्याई बेच्दा कर तिरेका छन् । तर, एनसेलले कर नतिरेको गुनासो गरे । उनले भने, ‘१९ भदौमा सर्वोच्च अदालतले एनसेलले पुँजीगत लाभकर नतिर्न आदेश दियो । यो २३ माघको सर्वोच्चको आदेशविपरीत छ ।’

सांसद अनिता देवकोटाले शान्ति सुरक्षा दिन प्रतिदिन खस्किँदै गए पनि सरकारले काम गर्न नसकेको गुनासो गरिन् । उनले बुटवलमा आपराधिक समूहको गोली लागेर एकको मृत्यु भएको र वीरगंजमा मुस्कान खातुनमाथि एसिड प्रहार भएको घटनाप्रति सरकार संवेदनशील नभएको आरोप लगाइन् । सांसद उदय शर्मा पौडेलले भृकुटीमण्डपमा सार्वजनिक सवारी नरोक्दा समस्या भएको बताइन् ।

Featured