विदेश

चिनियाँ प्रधानमन्त्री औपचारिक भ्रमणका लागि रुसमा

सेन्ट पिटर्सवर्ग, एजेन्सी, भदौ ३१-चीनका प्रधानमन्त्री लि खछ्याङ् सोमबार तीन दिने औपचारिक रूसको सेन्ट पिटर्सवर्ग आइपुगेका छन्। उनी रुस आउनुभएको रुसी परराष्ट्र मन्त्रालयको श्रोतले जनाएको छ।

दुई देशको बीचको दौत्य सम्बन्धको ७०औँ बार्षिकोत्सवको अवसर पारेर उनले रूसको औपचारिक भ्रमण गर्नु भएको बताइएको छ। चिनियाँ उपविदेश मन्त्री लि युचङले रुस र चीनबीचको सम्वन्धलाई नयाँ युगको रूपमा परिभाषित गरेका छन्।

उनले चिनियाँ प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरुका बीच भेटवार्ता हुने जानकारी पनि दिए। चिनियाँ प्रधानमन्त्री लि र रुसी प्रधानमन्त्री दिमित्री मेद्भेदेभको भेट चिनियाँ र रूसी सरकार प्रमुखको २४औ बैठकका रूपमा हुन लागेको हो।

प्रधानमन्त्री लिका अनुसार बैठकमा दुई देशका मुख्य उद्देश्यहरुलाई केन्द्रीत गरेर छलफल गरिने छ। दुई पक्षीय हित, साझा चासो र सहकार्यलाई ध्यानमा राखेर दुई प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ।

प्रधानमन्त्रीद्वय ली र मेद्भेदेभले सेन्ट पिटर्सवर्गमा छलफल तथा साझा सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्। चिनियाँ प्रधानमन्त्री लीले रूस भ्रमणका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मस्कोमा भेट्ने कार्यक्रम रहेको छ।-सिन्ह्वा

Featured