देश

प्रदेश अर्थमन्त्रीको राजीनामा माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

सुर्खेत, भदौ ३०–आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको छ । कर्णाली प्रदेश सभाको चौथो अधिवेशनको तीसौँ बैठकमा सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने विषयमा विशेष समयमा बोल्दै सांसद जीवनबहादुर शाहीले संसदलाई झुटो विवरण दिने अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

संसदमा सर्वसम्मत पारित भएको विनियोजन विधेयकमा भएको कुरालाई तोडमोड गरी आएकाले मन्त्रीले राजीनामा दिनुपर्ने उनले तर्क गरे । ‘सभाले बाइसौं बैठकमा विनियोजन विधेयक सर्वसम्मतले पास गरेको थियो,’ उनले प्रश्न गरे, ‘तर आज अर्कै भएर आएको छ । सदनमा एउटा विधेयक पास भयो बनेर अर्कै आयो । यसरी कसरी सदन अगाडि बढ्न सक्छ ?’

सिङ्गो सदनलाई छल्ने आर्थिक मामिलामन्त्री पदमा रहन नमिल्ने उनको भनाइ छ । ‘अर्थमन्त्रीले विधेयकको एउटा अंग नै काटेर बाटोमा फाल्नुभएको छ,’ उनले भने, ‘अर्थमन्त्रीले राजिनामा नदिएसम्म सदन अगाडि बढ्न दिँदैनौं ।’ सरकार सदनको अभिन्न अंग भए पनि दुर्भाग्य विनियोजन विधेयक प्रमाणित र प्रमाणीकरण हुँदा अंग नबनेको भन्दै उनले आक्रोस पोखे ।

आर्थिक मामिलामन्त्रीले प्रतिबद्धता गरेबमोजिमको विधेयक नआएकाले सदनलाई गुम्नाममा राख्ने मन्त्रीको राजीनामा माग गर्नुपरेको उनले बताए । सभाको मर्यादा नहुने कुरा मन्त्रीले गरेको उनले आरोप छ । प्रतिपक्षले अवरुद्ध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

Featured