देश

मोरङका सन्थालहरुले मनाए पारम्परिक ‘छत्ता पूजा’

विराटनगर, भदौ ३०–मोरङका सन्थाल समुदायले शक्तिको उपासना गर्दै पारम्परिक छत्ता पूजा गरेको छ । यो पूजामा नारीलाई शक्तीको प्रतीक मानेर भक्ति साधना गर्ने प्रचलन छ । नृत्यमार्फत शक्तीको उपासना गर्दै सन्थाल समुदायले छत्ता पूजा गरेको हो । रंगेली नगरपालिका–५ आमतोलामा आयोजित पूजामा हजारौं सन्थाल सहभागी भएका छन् । प्रत्येक वर्ष यो पर्व मनाउने गरिएको छ । यो पूजामा बाँसको लिङ्गोमा रंगीचंगी कागजले बनाइएको छात्ताको आकृति झुण्ड्याएर पुजा–अराधना गर्ने गरिन्छ । सन्थाल समुदाय प्रकृति पूजक भएकाले कुनै पनि देवीदेउताको मूर्ति नराखी निराकार शक्तिलाई पूजा गर्ने गरिएको संस्थान अगुवाहरुले बताएका छन् ।

पान, सुपारी, सिन्दुर र धुपले पूजा गर्दै लिङ्गो अगाडि धानको लावा छर्ने गरिन्छ । नृत्यमार्फत नै देवीको उपासना गर्ने प्रचलन भएका कारण झापा, मोरङ, सुनसरीमा बसोबास गर्ने सन्थाल समुदायका व्यक्तिहरु नृत्य टोलीसहित आमतोला पुगेका थिए । मौलिक पोसाकमा सहभागी भएका उनीहरुले समूहगत रुपमा नृत्य प्रस्तुत गरेका थिए । नृत्यमा सहभागी समूहका मानिसले कुखुरा र परेवालगायतका पन्छीको प्वाँखबाट बनाइएको आर्कषक सिउर फेटामा उनेका थिए ।

कतिपय समुहले भने नेपालको झण्डा शिरमा राखेर नृत्य प्रस्तुत गरेका थिए । शक्तिकी देवीलाई खुसी तुल्याउन यसप्रकारको नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको आयोजक समितिका सदस्य परमेश्वर मुर्मुले बताए । आमतोला क्षेत्रमा जंगल रहेकै अवस्थादेखि मनाइँदै आएको छत्ता पूजामा सहभागी हुने नृत्य समूहको टोलीलाई पछिल्लो समय आयोजक समितिले पुरस्कृतसमेत गर्न थालेको छ । सहभागी टोलीको नृत्य प्रस्तुतिलाई निर्णायकको माध्यमबाट छनौट गरी आयोजक समितिले पुरस्कृत गर्न थालेको हो ।

मौलिक संस्कृति लोप हुनबाट जोगाउने प्रयासस्वरुप नगदसहित पुरस्कृत गर्न थालिएको छत्ता पूजा कार्यक्रम संयोजक लुखिराम हस्दाले जानकारी दिए । सहभागीले लगाएको पोसाक, प्रस्तुति र मौलिकता हेरेर पुरस्कृत गर्ने गरिएको उनले बताए । यस वर्षको नृत्य प्रस्तुतिमा झापा गौरीगञ्ज–२ कोरोबारीको जियोड झरना युवा क्लब प्रथम, मोरङ रंगेली–३ दौलतपुरको श्री सृजन बाबा जनम देलेग समुह दोश्रो र झापा गौरीगञ्जका सगरमाथा सन्थाली अमर क्लब तेस्रो भएको छ । ती समूहहरुलाई क्रमशः ११ हजार ५१, १० हजार ५१ हजार र ९ हजार ५१ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Featured