देश

संसदीय समितिले सरकारको निगरानीमात्रै गर्छ : सभामुख महरा

Deputy Prime Minister Krishna Bahadur Mahara talks with journalists upon his arrival from a visit to China, at the Tribhuvan International Airport, in Kathmandu, on Saturday, August 20, 2016. Photo: RSS

काठमाडौं, भदौ ३०–सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरुले सरकारको कामको निगरानी मात्रै गर्ने बताएका छन् । संसद सचिवालयले सोमबार संविधानसभा भवन नयाँबानेश्वरमा आयोजना गरेको अन्तक्र्रियामा सभामुख महराले समितिले सरकारलाई नियन्त्रण नगर्ने बताएका हुन् । ‘संसदले समितिमार्फत सरकारले आफ्नो ट्र्याक छाड्छ कि भनेर निगरानीमात्रै गर्ने हो,’ सभामुख महराले भने, ‘तर नियन्त्रण गर्न भने सक्दैन ।’

महराले मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यक्रमलाई निरन्तरता दिए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम अहिलेसम्म एकपटक मात्रै गर्न सकिएको बताए । सरकारले ‘रेस्पोन्स’ गरेको अवस्थामा संसदका काम कारबाही झनै प्रभावकारी हुने दाबी गर्दै महराले संसदले संकल्प प्रस्ताव, सार्वजनिक महत्त्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरु पारित गरेको र त्यसको कार्यान्वयनका लागि सरकारको तदारुकताको अपेक्षा गरिएको बताए ।

सभामुख महराले संसद नियमावलीअनुसार चल्नु नै संसदीय प्रक्रियाको असल अभ्यास हुने बताउँदै सांसदहरु आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग हुनुपर्नेमा जोड दिए । सांसदहरु कानुन निर्माणका लागि निर्वा्चित भए पनि विकास निर्माणसँग पनि जोडिएको उनले बताए । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले संसदीय अभ्यासलाई विगतभन्दा प्रभावकारी बनाउन संसदले रणनीतिक कार्ययोजना नै बनाएको बताइन् ।

‘कार्ययोजनामा सांसदहरुको क्षमता अभिवृद्धिदेखि संसदीय अभ्यास प्रभावकारी बनाउने भन्ने पनि छ,’ उनले भनिन् । उनले सांसदहरुलाई आफ्नो कार्यकालमा संसद प्रभावकारी भएको महसुस दिलाउने गरी काम गर्न आग्रह गरिन् । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसदमा प्रस्तुत हुँदा सांसदहरुलाई प्राविधिक विषयहरु पनि ध्यान दिन सुझाव दिइन् ।

Featured