देश

सोह्र–श्राद्धको महत्व र धार्मिक मान्यता

आचार्य कुशलकुमार निरौला
म आज पनि समय सान्दर्भिक प्रसँगलाई उठाउँदै छु जसलाई आज हाम्रो समाजमा अत्यन्त रूढिवादीको लाल्छना लागेको छ । जीवन भरि सँगैराखेर, मीठो-मीठो खुवाएर सम्मान गर्ने वर्ग देखि लिएर आफ्ना माता-पितालाई हेलाको दृष्टिकोणले हेर्ने दुवै वर्गको एउटै जिज्ञासा रहने गर्छ ।मरे पछि पिण्ड,तर्पण दिएर के हुन्छ र ? भगवान श्रीकृष्ण स्वयँ आफूलाई पितृहरुमा अर्यम्णा नामक पितृ हूँ भन्नु हुन्छ । पितृ आषिर्वाद भन्दा ठूलो आषिर्वाद कुनै हुन सक्दैन भने पितृ श्राप भन्दा ठूलो श्राप पनि कुनै हुन सक्दैन । त्यसैले पितृ आशिर्वाद पाउनका लागि श्राद्ध अत्यन्त जरुरी छ ।
श्राद्धले तृप्त हुन्छन् पितृगण
अश्विन कृष्णपक्षलाई पितृपक्ष मानिएको छ । धर्मशास्त्रका अनुसार जब कन्या राशिमा सूर्य पुग्छन् , त्यहा देखि 16 दिन पितृ तृप्तिका लागि तर्पण पिण्डदानादि गर्नु तृप्तिकारक मानिएको छ । पितृ तृप्ति भए भने मात्र घरमा पुत्र पौत्रादिको वंश वृद्धि एवं गृहस्थाश्रममा सुख शांति भई रहन्छ । श्राद्ध कर्मको आवश्यकताका सम्बंधमा शास्त्रहरुमा बहुधा प्रमाण पाईन्छन् । गीतामा पनि भगवान् ” लुप्तपिण्डोदकक्रिया ” भनेर त्यसको आवश्यकताका तर्फ संकेत गर्नु हुन्छ । क‌र्त्तव्याक‌र्त्तव्यका संबंधमा शास्त्र नै प्रमाण छन् । त्यसैले पितृ, देव, एवं मनुष्यका लागि वेद शास्त्रलाई नै प्रमाण मानिएको छ ।जंगलमा बसेर कन्दमूल,फल खाएर, मन वाणी एवं कर्मले सर्वथा सत्यलाई नै पालन गर्ने महर्षिगण लोकोपकारकालागि शास्त्रीय माध्यमले हमीलाई कल्याणकारि मार्ग प्रसस्त गर्नुहुन्छ ।
त्यसैले आज पनि आस्तिक जन श्रद्धापूर्वक शास्त्र प्रतिपादित धार्मिक कृत्यलाई अनुष्ठान मान्दछन् । जसरी चिकित्सक द्वारा प्रदत्त औषधीको सम्पूर्ण विवरण नजानिकन खादा पनि रोगी लाभान्वित हुन्छ , त्यसैगरि ऋषिमुनीहरु द्वारा प्रवर्तित अथवा वेद प्रतिपादित कल्याण मार्गका रहस्यलाई नजानि-नजानिकन आचरण गर्नाले पनि मनुष्यको कल्याण निश्चित हुन्छ । तथ्यको ज्ञान केवल ज्ञान -वृद्धिमा मात्र सहायक हुन्छ । जबसम्म अनुष्ठान गरिदैन तबसम्म कल्याण हुन सक्दैन , त्यसैले ज्ञान पक्ष भन्दा क्रिया पक्ष अत्यधिक गौरवान्वित मानिएको छ । शरीरका दुई भेद छन् । सूक्ष्म र स्थूल । पंचभौतिक शरीर मरेपछि नष्ट हुन्छ । सूक्ष्म शरीर आत्मासँग यसरि जान्छ जसरि पुष्पको सुगन्ध वायुसँग । जुन धर्मग्रन्थमा मरेपछाडिका गतिको वर्णन पाईन्छ , तीनिहरुमा स्थूल शरीरका अलावा सूक्ष्म शरीरको पनि अवस्थाको सँकेत मिल्छ । सूक्ष्म शरीरलाई प्रभावित गर्ने सूक्ष्म तत्व नै हुन्छ,जसलाई स्थूल मापदण्डले मापन गर्न सकिदैन ।
वेदमा ” आत्मा वै जायतेपुत्र:” अर्थात पुत्रलाई आत्म-स्वरूप मानिएको छ । हुनत सजातीय धर्मको पनि एउटा आफ्नै महत्व हुन्छ । मनुष्य-मनुष्यमा , चुम्बक-चुम्बकमा , तार-तारआदिमा सजातीय धर्म सुदृढ रहन्छ । त्यहि सजातीय धर्मका आधारले नै पिताको ऋणलाई पुत्रले चुकाउनु पर्छ र पुत्रको ऋणलाई पिताले चुकाउनु पर्छ । जसरी रेडियो स्टेशनबाट विद्युत तरंग मार्फत ध्वनि प्रसारित गरेपछि समान धर्म भएका केंद्रबाट मात्र त्यसलाई सुन्न सकिन्छ ,त्यसरि नै यसलोकमा स्थित पुत्र रूपी मेशीनका पनि भावलाई श्राद्धमा यथा स्थान स्थापित गरिएका आसन आदिका क्रिया द्वारा शुद्ध र अनन्य बनाएर त्यस द्वारा श्राद्धमा दिइएका अन्नादिका सूक्ष्म परिमाणलाई स्थान्तरण गरेर पितृलोकमा पितृहरु समक्ष पठाइन्छ ।
सामान्य लोक व्यवहारमा पनि मनुष्य द्वारा प्रयुक्त अपशब्द अथवा असम्मान जनक शब्दले यदि हाम्रो मनलाई उद्विघ्न अथवा अप्रसन्न गर्न सक्छ भने , पवित्र वेदका मंत्रहरु द्वारा अभिमन्त्रित शुद्ध भावले समर्पित अन्नादिका सूक्ष्मांशले पितृहरुलाई तृप्ति किन गर्न सक्दैन ? अवश्य गर्न सक्छ । संस्कार मूलक सृष्टिमा सत्संस्कारजनक श्राद्ध आदि सत्सन्ततिदायक क्रियाहरुका अभावले आजको हाम्रो समाज दुराचारी राक्षस प्रवृत्तिदेखि पीडित छ । श्राद्ध सत्सन्तान लाभमा एउटा कडा चुनौति हो ।
पुण्यार्जनको घडी हो र सुख-शांतिको जड पनि हो । श्राद्ध धनले नै मात्र सम्पन्न हुन्छ भन्नु अनुचित हो । जो सँग आफूलाई खानकोलागि एउटा दानो अन्न पनि हुदैन उसले पनि पितृहरुलाई श्रद्धा भावले तर्पित गर्न सक्दछ । शास्त्रमा विधान बताइएको छ , घरमा केहि नभएता पनि आफ्ना पितृहरुको तिथिका दिन एकान्तमा दुवै हात माथी उठाएर भक्ति भावले अश्रुपात गर्दै पितृहरुसँग विन्ति गर्दै तृप्त हुनका लागि भगवान सँग प्रार्थना गर्नु पर्छ । यसैबाट श्राद्धको महत्व जीवनमा कति छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ ! पितृगणपनि श्राद्धले तृप्त भएर आफ्ना संतानलाई सबै प्रकारका सुख समृद्धिले तृप्त गरि दिन्छन् ।
मनुष्य कुनै न कुनै धर्मका प्रति आस्थावान भए बिना रहन सक्दैन , जुन सुकै धर्ममान्ने व्यक्ति किन न होस् उसको आफ्नै पहिचान हुन्छ ।सनातन धर्मले सबैलाई आफ्नो इच्छनुसारको इष्ट मान्ने अधिकार दिन्छ त्यो इष्ट भगवान,देवि, देवता,गड ,बुद्ध , इसा मसिह , अल्लाह ,आदि जुनसुकै नामको हुन सक्छ ,त्यहि आफ्नो इष्टलाई रिझाउने तरिकालाई नै हामी बिभिन्न धर्मको नाम दिन्छौ ।सँसारको सबैभन्दा प्राचिन धर्म भनेको नै हामीले मान्ने हिन्दु धर्म हो ।
यसको आफ्नै खाले अस्तित्व र पहिचान छ ।यसका अनुयायीहरु सँसारभरिनै छरिएर रहेका छन् ।हिन्दु धर्मका आराध्यहरु मुख्य गरेर तीन प्रकारका छन् ।देवता,ऋषि र पितृ ।पूजा,पाठ र यज्ञको माध्यमबाट देवतालाई रिझाईन्छ ।तर्पण , स्वाध्याय , वेदाध्ययन आदिको माध्यमबाट ऋषिलाई रिझाईन्छ भने – श्राद्ध, पिण्डदान, तर्पण ब्राह्मण भोजन आदिको माध्यमबाट पितृलाई रिझाईन्छ ।
हिन्दु परम्परा अनुसार आश्विन कृष्ण प्रतिप्रदादेखि औंसीसम्म कायम रहने पितृपक्षमा आफ्ना दिवंगत पितृको तिथिमा श्राद्ध, पिण्डदान तथा तर्पणादि कार्य गरिने हुनाले हाम्रो हिन्दु समाजमा सोह्र श्राद्धको विशेष महत्व छ। चाडपर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको पुजा गर्ने हिन्दु परम्परा अनुसार बडा दशै र तिहार जस्ता महान चाड भन्दा पहिले पर्ने सोह्र श्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्त शुद्धि गराउँछ भन्ने मान्यता छ।
श्राद्धकिन ?
जीवितो वाक्यकरणात् क्षयाहे भूरिभोजनात् ।
गयायां पिण्डदानाच्च त्रिभि: पुत्रस्य पुत्रता ।।
जीवित माता-पिताको सम्मान र सेवा , मृतकलाई श्राद्धका दिन स्मरण पूर्वक श्राद्ध, एवँ ब्राह्मण – गरिब – अनाथ साधुहरुलाई भोजन , गयाआदि तीर्थमा गएर पिण्ड दान गर्नु तीन प्रकारका पुत्रका लक्षण हुन्छन् ।प्रत्येक वर्ष १६ दिन पितृका नामका हुन्छन् जसलाई पितृपक्षका नामले जानिन्छ | पितृपक्षमा शुभकार्य गरिदैन ।
श्राद्धका विविध स्वरुप:-
त्रिविधंश्राद्धमुच्यते – मत्स्य पुराणमा तीन प्रकारका श्राद्ध मानिएका छन् , जसलाई नित्य, नैमित्तिक एवं काम्यका नामले जानिन्छन् । यमस्मृतिमा पांच प्रकारका श्राद्धहरुको वर्णन पाईन्छ । जसलाई नित्य, नैमित्तिक काम्य, वृद्धि र पार्वणको नामले जानिन्छ ।
नित्य श्राद्ध :-
नित्यको अर्थ प्रतिदिन । अर्थात् दिन-दिनै गरिने श्राद्धलाई नित्यश्राद्ध भनिन्छ । यस श्राद्धमा विश्वेदेवलाई स्थापित गरिदैन । अत्यन्त आवश्यकता एवं असमर्थावस्थामा केवल जलले मात्र पनि यो श्राद्धलाई सम्पन्न गर्न सकिन्छ ।
नैमित्तिक श्राद्ध :-
कसैलाई निमित्त बनाएर जुन श्राद्धगरिन्छ , त्यसलाई नैमित्तिक श्राद्ध भनिन्छ । यसलाई एकोद्दिष्टको नामले पनि जान्न सकिन्छ । एकोद्दिष्टको मतलब कुनै एकलाई निमित्त मानेर गरिने श्राद्ध जस्तै कसैको मृत्यु भएमा दशाह, एकादशाह आदि एकोद्दिष्ट श्राद्धका अन्तर्गत आउँछन् । यसमा पनि विश्वेदेवहरुलाई स्थापित गरिदैन ।
काम्य श्राद्ध :-
कुनै कामनाको पूर्तिका निमित्त जुन श्राद्ध गरिन्छ । त्यो काम्य श्राद्ध अन्तर्गत आउछ ।
वृद्धि श्राद्ध :-
कुनै प्रकारको वृद्धिमा , जस्तै पुत्र जन्म, विवाहादिमांगलिक कार्यमा जुन श्राद्ध हुन्छ । त्यसलाई वृद्धि श्राद्ध भनिन्छ । यसलाई नान्दीश्राद्ध अथवा नान्दीमुखश्राद्धको नामले पनि जान्न सकिन्छ ।
पार्वण श्राद्ध :-
पार्वण श्राद्ध पर्व सँग सम्बन्धित हुन्छ । कुनै पर्व जस्तै पितृपक्ष, अमावास्या अथवा पर्वको तिथि आदिमा गरिने श्राद्ध पार्वण श्राद्ध मानिन्छ । यो श्राद्ध विश्वेदेवसहित हुन्छ । विश्वामित्रस्मृति तथा भविष्यपुराणमा बाह्र प्रकारका श्राद्धहरुको वर्णन पाइन्छ जसलाई नित्य, नैमित्तिक, काम्य, वृद्धि, पार्वण, सपिण्डन,गोष्ठी, शुद्धयर्थ,कर्माँग,दैविक, यात्रार्थ तथा पुष्ट्यर्थका नामले जान्न सकिन्छ । यदि ध्यान पूर्वक हेर्ने हो भने यी बाह्रै प्रकारका श्राद्धको स्वरूप माथी उल्लेख गरिएका पांच प्रकारका श्राद्धहरुमा स्पष्ट रूपले झल्किन्छ ।
सपिण्डनश्राद्ध :-
सपिण्डनशब्दको अभिप्राय पिण्डहरुलाई मिलाउनु । वास्तवमा शास्त्रानुसार जब जीवको मृत्यु हुन्छ , तब त्यो प्रेत हुन्छ । प्रेतबाट पितृमा लिएर जाने प्रक्रिया नै सपिण्डन हो । अर्थात् यस प्रक्रियामा प्रेत पिण्डलाई पितृ पिण्डमा सम्मेलन गराइन्छ । यसैलाई सपिण्डनश्राद्ध भन्दछन् ।
गोष्ठी श्राद् :-
गोष्ठी शब्दको अर्थ समूह हुन्छ । जुन श्राद्ध सामूहिक रूपले अथवा समूहमा सम्पन्न गरिन्छ । त्यसलाई गोष्ठी श्राद्ध भनिन्छ ।
शुद्धयर्थश्राद्ध :-
शुद्धिका निमित्त जुन श्राद्ध गरिन्छन् त्यसलाई शुद्धयर्थश्राद्ध भनिन्छ । जस्तै शुद्धिकालागि ब्राह्मण भोजन गराइन्छ ।
कर्मागश्राद्ध :-
कर्माँगको सीधै अर्थ कर्मको अंग हुन्छ , अर्थात् कुनै प्रधान कर्मको अंगका रूपमा जुन श्राद्ध सम्पन्न गरिन्छ त्यसलाई कर्मागश्राद्ध भन्दछन् । जस्तै – सीमन्तोन्नयन, पुंसवन आदि संस्कारहरुको सम्पन्नताकालागि गरिने श्राद्ध यस श्राद्ध अन्तर्गत आउछन् ।
यात्रार्थश्राद्ध :-
यात्राको उद्देश्यले गरिने श्राद्ध यात्रार्थश्राद्ध कहलाउँछ । जस्तै तीर्थमा जानुको उद्देश्यले या देशान्तरमा जाने उद्देश्यले जुन श्राद्धलाई सम्पन्न गराइन्छ त्यो यात्रार्थश्राद्ध नै हो र यसलाई यो घ्यूले सम्पन्न गरिन्छ । त्यसैले यसलाई घृतश्राद्धको पनि उपमा दिईएको छ ।
पुष्ट्यर्थश्राद्ध :-
पुष्टिका निमित्त जुन श्राद्ध सम्पन्न हुन्छ , जस्तै -शारीरिक एवं आर्थिक उन्नतिका लागि गरिने श्राद्ध पुष्ट्यर्थश्राद्ध कहलाउँछ । वर्णित सबै प्रकारका श्राद्धहरुका दुई-दुई प्रकारका भेद हुन्छन् । श्रौत तथा स्मा‌र्त । पिण्डपितृयागलाई श्रौतश्राद्ध भन्दछन् तथा एकोद्दिष्ट पार्वण आदि मरण सम्मका श्राद्धलाई स्मा‌र्त्तश्राद्ध भन्दछन् ।
श्राद्धैर्नवतिश्चषट्-धर्मसिन्धुका अनुसार श्राद्धका ९६ अवसर भनिएका छन् ।
एक वर्षका अमावास्या (औँशि) (१२) पुणादितिथिहरु (४), मन्वादि तिथिहरु (१४), संक्रान्तिहरु (१२), वैधृति योग (१२), ,व्यतिपात योग (१२)पितृपक्ष (१५), अष्टकाश्राद्ध(५), अन्वष्टका(५), तथा पूर्वेद्यु:(५) मिलाएर कुल ९६ अवसर श्राद्धका छन् ।
(लेखक हिन्दुजागरण नेपालका केन्द्रिय सदस्य पनि हुन्। )

Featured