देश राजनीति

तरुण दल बिवादः अध्यक्षले महासचिव हटाए, महासचिवले अध्यक्ष

काठमाडौं, भदौ २८–लामो समयदेखि अधिवेशन हुन नसकेपछि आन्तरिक विवादमा फसेको नेपाल तरुण दलका अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन् । अनुशासनहीन गतिविधि गरेको भन्दै अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई महासचिव र तरुण दलको साधारण सदस्यबाट समेत हटाएको बिज्ञप्ति निकाले । लगत्तै महासचिवले अध्यक्षलाई नै कारवाही गरिउको भन्दै अर्को बिज्ञप्ति निकालेका छन् ।

एकअर्काप्रति आरोप प्रत्यरोपमा उत्रिएका तरुण नेताहरु कारबाहीको प्रक्रियामा उत्रिदासमेत मातृ पार्टी कांग्रेसले भने अहिलेसम्म कुनै प्रतिकृया जनाएको छैन । पार्टीका सवैजसो भातृ तथा सुभेच्छुक संस्था यतिवेला लथालिंग अवस्थामा छन् । त्यसको जवाफमा शाहीले पनि चारबुँदे आरोप लगाएर अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको विज्ञप्ति जारी गरेका छन् । यसअघि अध्यक्ष र महासचिवले एकअर्काको निर्णय अवैध भएको भन्दै खारेज गरेका थिए ।

विधानबमोजिम पार्टीको केन्द्रमा २८ वटा विभाग गठन भएका छैनन् । पार्टी सभापति शेरबहादुर देउवाले १३औं महाधिवेशनबाट पार्टीको नेतृत्व लिए पनि हालसम्म ती विभाग गठन गरेका छैनन् । पार्टीका सांगठनिक संरचनाको रूपमा उपसभापति पदेन सदस्य रहने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, केन्द्रीय लेखापरीक्षण समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय निर्वाचन समिति मात्र छन् । उपसभपाति निधिको संयोजकत्वमा प्रतिष्ठान, राधेश्याम अधिकारीको संयोजकत्वमा निर्वाचन समिति, श्यामप्रसाद घिमिरेको संयोजकत्वमा लेखापरीक्षण समिति र भीष्मराज आङदम्वेको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको छ ।

२८ वटा विभाग गठन नहुँदा पार्टीका १ हजार ४ सय २८ पार्टी कार्यकर्ता जिम्मेवारविहीन भएका छन् । विधानअनुसार एउटा विभागमा ५१ जना सदस्य रहन्छन् । कांग्रेसका १३ वटा भ्रातृ संस्थामध्ये एउटा मात्र संगठन देशव्यापी रुपमा क्रियाशील छ । उमा रेग्मी अध्यक्ष भएको नेपाल महिला संघ देशव्यापी सञ्जाल भएको पार्टीको भातृ संस्था हो । त्यसबाहेक दुईवटा जातीय संगठन नेपाल मगर संघ र नेपाल मुस्लिम संघ मात्र पार्टीको भ्रातृ संस्थाको रूपमा क्रियाशील छन् ।

कांग्रेसको भ्रातृ संस्थामध्ये नेपाल किसान संघका अध्यक्ष भानु सिग्देल र नेपाल आदिवासीरजानजाति संघका अध्यक्ष इन्द्रबहादुर (आईबी) गुरुङ विगत १५ वर्षदेखि महाधिवेशन नै नगरी संगठनको नेतृत्व गरिरहेका छन् । नेपाल ठाकुर संघ, नेपाल दलित संघ, प्रजातन्त्र सेनानि संघ, नेपाल तामाङ संघ र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले विधानबमोजिम महाधिवशेन गर्न नसकेपछि विधानबमोजिम निष्क्रिय छन् । पार्टीले विधानबमोजिम निर्धा्रित समयमा महाधिवेशन गर्न नसकेपछि नेपाल विद्यार्थी संघलाई २८ माघ २०७५ विघटन गरेको थियो ।

कांग्रेसका धेरैजसो शुभेच्छुक संस्थाले निर्धा्रित समयमा महाधिवशेन गरे पनि नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवा खलः र नेपाल प्रेस युनियनले भने महाधिवशेनग गर्न सकेका छैनन् । विधानबमोजिम जिल्ला सम्पर्क समिति कतिवटा छन् र तिनको अधिवेशन भएको छ वा छैन भन्ने रेकर्ड पार्टीसँगै छैन । पार्टी विधानको दफा ४२ को उपदफा १ को ‘च’ अनुसार विधानमा उल्लिखित अवधिमा केन्द्रीय महाधिवेशन हुन नसकेमा केन्द्रीय समिति स्वतः विघटन हुने प्रावधान छ । सो उपदफाले पार्टीको केन्द्रीय कार्यसमितिले तत्काल अधिवेशन गर्न आवश्यक व्यवस्था गर्ने जनाएको छ ।

विधानअनुसार पार्टीका अधिकांश भ्रातृ संस्था स्वतः विघटनमा परेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको १७ भदौमा सम्पन्न बैठकले सबै भ्रातृ संस्थालाई ६ महिनाभित्र महाधिवेशन गर्ने कार्यादेशसहित जिम्मेवारी दिएको छ । तर, कांग्रेसको सबैभन्दा शक्तिशाली संगठन नेपाल विद्यार्थी संघ अस्तित्वमा छैन । पार्टीले नेविसंघ तदर्थ समिति बनाउन गृहकार्य गरिरहेको छ । पार्टीले केन्द्रीय सदस्य एनपी साउदको संयोजकतत्वमा भ्रातृ संस्थाको विधानमा एकरुपता दिन भन्दै समिति गठन गरेको छ । तर, समितिले अहिलेसम्म ठोस काम गरेको छैन ।

विधानको संक्रमणकालीन व्यवस्थाअनुसार पार्टीले निर्दे्शिका बनाएर नयाँ संरचना निर्माण गर्ने भनिए पनि हालसम्म प्रदेश सभा क्षेत्रीय कार्यसमिति गठन मात्र सकिएको छ । कांग्रेसमा हाल केन्द्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र प्रदेश क्षेत्रीय कार्यसमिति मात्र छन् । निर्देशिकामा प्रदेश कार्यसमिति निर्माणको परिकल्पनासमेत गरिएको छैन ।

Featured