देश

संसदीय समिति नागरिकता विधेयकमा सहमति जुटाउन असफल

काठमाडौँ, भदौ २८–संसदीय समिति नागरिकता विधेयकमा सहमति जुटाउन असफल भएको छ । नागरिकता विधेयकलाई अन्तिम रुप दिन आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वैवाहिक अंगीकृत नागरिकताको विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लिखित फरक मत राखेपछि त्यसमा सहमति जुटाउन नसकेको हो ।

समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरुले नागरिकता ऐन, २०६३ कै प्रावधान अनुसार वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने फरक मत राखेपछि समितिले ती समस्या समाधानका लागि राजनीतिक सहमति जुटाउने निर्णय गरेको छ । राजनीतिक सहमतिकै आधारमा नागरिकता विधेयकलाई टुंगो लगाउने सहमति गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिए ।

बैठकमा सत्तारुढ नेकपाका सांसदहरुले भने नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलालाई ७ वर्ष पूरा भएपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने र नेपाली महिलाले विवाह गरेका ज्वाइँलाई १५ वर्ष पूरा भएपछि मात्रै अंगीकृत नागरिकता दिने कानुनी व्यवस्था गर्नुपर्ने मत राखेका थिए । सत्ता साझेदार समाजवादी पार्टी, नेपालका सांसद रामसहायप्रसाद यादवले नागरिकता ऐन, २०६३ अनुसारनै वैवाहिक अंगिकृत नागरिकता वितरण गर्दा के असर पर्न गयो ? भनि सत्तारुढ नेकपामा सांसदहरुलाई प्र्रश्न गर्नु भएको थियो ।

यसैबीच, सत्तारुढ नेकपाका सांसद नवराज सिलवालले नागरिकतासम्बन्धि विधेयकलाई नेपाली कांग्रेसले राजनीतिकरण गर्न खोजेको भन्दै आपत्ति जनाए । समितिले शीर्ष तहमा छलफल गरी २४ घण्टा भित्र सो सम्बन्धमा सहमति जुटाएर ल्याउन पनि समितिका सदस्यहरुलाई जिम्मेवारी दिएको छ ।

Featured