देश

आकर्षक उपहार भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ

धनगढी, भदौ २८–आकर्षक उपहार भन्दै ठगी गर्ने ६ जना भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । शुक्रवार धनगढी उपमहानगरपालिका–४ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता दक्ष कुमार बस्नेतले बताए । उनीहरूको साथबाट ४५ हजार नगद सहित ३ थान मोबाइल, चार खोलेका र सात सय खोल्न बाँकी कुपन पनि बरामद गरिएको उनले बताए ।

उनका अनुसार भारतको उत्तर प्रदेश जिल्लाको बहराईच ताहसिल पचागपुरका २६ वर्षीय शैलेश त्रिपाठी, सोही ठाउँका २९ वर्षीय निरञ्जन सिंह, २४ वर्षीय नरपति सिंह २३ वर्षीय आशिष सिंह, ३० वर्षीय बिन्देश्वरी सिंह र ३९ वर्षीय पंकज कुमार तिवारी पक्राउ परेका हुन् ।

उनीहरूले एक सय रुपैयाँमा स्क्रयाच कार्ड खरिद गरेमा साढे चार हजारसम्मको आकर्षक उपहार पर्ने र एक महिनापछि चिट्ठामा परेको सामान डेलिभरी हुने भन्दै १० दिनदेखि ठगी गरेको पाइएको प्रहरी प्रवक्ता बस्नेतले बताए । उनीहरूले धेरै व्यक्तिलाई ठगी गरेको बुझिएकाले पीडितलाई सम्पर्कमा आउन पनि प्रहरीले आग्रह गरेको छ ।

Featured