देश

पाँच महिनाकी गर्भवती दस दिनदेखि बेपत्ता

पर्वत, भदौ २८–पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहे भएकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीय शंकर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनीषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएकी हुन् । भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् । घर फर्किएको साँझ ७स्३० बजेदेखि सम्पर्क्विहीन भएको उनका श्रीमान् शंकर रत्नले जानकारी दिए ।

माइत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनीषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर र्पुयाएर फर्किएका थिए । आफू फर्किएर पाङ आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७स्३० बजेको समयमा फोन गर्दा श्रीमानले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताइन् ।

उनका अनुसार घरमा पटकपटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राति श्रीमान् शंकरले फोन गरेर गाली गरेको आरोप छ । मनीषाले चार वर्षअघि भागेर शंकरसँग प्रेम विवाह गरेको बताइएको छ । राति खाना खाएपछि घरबाट कपडा सिलाउनका लागि निस्किएको स्थानीयले बताउने गरेको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेपत्ता बनेकी मनीषाको खोजीकार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बेपत्ता महिलाको खोजी कार्य तीव्र पारिएको भए पनि अहिलेसम्म कुनै पत्ता नलागेको जानकारी दिए । उनले घरपरिवारलाई बोलाएर सोधपुछ गर्नेदेखि लिएर सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको र खोजीकार्य अझै जारी रहेको बताए । (रासस)

Featured