देश

भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग आवश्यक : मन्त्री भट्टराई

अत्तरिया, भदौ २८–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघद्वारा शनिबार यहाँ आयोजित स्वागत कार्यक्रममा उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले छिमेकी मुलुक भारतसहितका देशमा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी भ्रमण वर्षमा बाह्य पर्यटक नेपालमा भित्र्याउन निजी क्षेत्रलाई आग्रह गरे । मन्त्री भट्टराईले हवाई सेवालाई प्रभावकारी बनाउन सबै प्रदेशमा एउटा(एउटा मुख्य हवाई केन्द्र बनाउने तयारी भइरहेको बताए ।

उनले भ्रमण वर्षलाई लक्षित गरी सबै प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा समिति गठन गरी काम अघि बढिरहेको जानकारी गराए । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बन्द रहेका विमानस्थल सञ्चालनका लागि प्राविधिक टोलीले अध्ययन गरी पछिल्लो अवस्थाबारे जानकारी दिन निर्देशन दिइसकिएको उनले बताए ।

उनले सुदूरपश्चिममा पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना मन्त्रालयमा पेस गर्न सरोकारवालालाई आग्रह गरे । यसैबीच टीकापुर नगरपालिका( ७ ढुंगाना टोलमा शनिबारदेखि सुरु हुने डल्फिन महोत्सवको उनले उद्घाटन गर्ने बताइएको छ । (रासस)

Featured