देश राजनीति

कांग्रेस सभामा आक्रमणको आरोपमा नेकपाका नेता मल्लविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

काठमाडौं, भदौ २७–नेपाली कांग्रेसले बाँकेको खजुरामा बिहीबार आयोजना गरेको भेलामा आक्रमण गरी एक दर्जन बढीलाई घाइते बनाएको अभियोगमा प्रहरीले स्थानीय खजुरा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सुमन मल्ललाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने भएको छ । तत्कालीन नेकपा एमालेबाट खजुरा गाउँपालिकाको वडा अध्यक्षमा निर्वा्चित मल्लसहितको समूहले आक्रमण गर्दा कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनालसहित एक दर्जन घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले स्थानीय होटलका संचालकसमेत रहेका मल्ललाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने जानकारी दिएको छ । प्रहरीले बिहीबार खजुराको सितापुरमा भएको सो घटनामा संलग्न भएको अभियोगमा तीन जनालाई गिरफ्तार गरिसकेको छ । घटनाको विरोधमा शुक्रबार नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको थियो । घटनालाई लिएर कांग्रेसका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला सभापतिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाउने भएका छन भने दिउँसो तीन बजे माइतीघरमा कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।

Featured