देश

नेकपाले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिव तोक्यो

धनगढी, भदौ २७–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी (नेकपा)ले प्रदेशका ८८ वटै स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लागेको जनाएको हो । स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लगाइए पनि सार्वजनिक भने गरिएको छैन । नेकपा स्रोतका अनुसार धनगढी उप–महानगरपालिकामा अध्यक्षको जिम्मेवारी प्रदेशसभा सदस्य सुशीला बुढाथोकी, गोदावरीमा गोकर्ण भट्ट, घोडाघोडी नगरपालीकामा भीम बमलाई दिइएको छ ।

प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा २५ र २६ भदौमा धनगढीमा बसेको बैठकले स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विज्ञप्ति सार्वजनिक गर्दै प्रदेश अध्यक्ष थापाले नवगठित कमिटीका सदस्यहरूको शपथ १५ असोजभित्र हुने बताए । पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज एवं स्थायी कमिटी सदस्य भीम रावलले विधि र प्रक्रियाका आधारमा जिम्मेवारी प्रदान गरिएको बताए । ८८ वटै स्थानीय तहमा कमिटी निर्माण भएसँगै स्थानीय स्तरमा पार्टीका गतिविधि बढ्ने रावलले बताए ।

पार्टीका कमिटीहरूलाई क्रियाशील रहन रावलले आग्रह गरे । पार्टीले विधि प्रक्रिया र मापदण्डका आधारमा जिम्मेवारी बाँडफाँड गरेकाले यसमा अनावश्यक टीकाटिप्पणी नगरी एकताबद्ध हुन नेता कार्यकर्तालाई उनले आग्रह गरे । यसअघि प्रदेशमा इन्चार्ज, अध्यक्ष, सह–इन्चार्ज र सचिव मात्र थिए । दुई दिनसम्म धनगढीमा चलेको बैठकमा अन्य सङ्गठनको एकताबारे पनि निर्णय भएको नेकपा सुदूरपश्चिमले जनाएको छ ।

Featured