देश

निर्माणाधीन शहीद मार्गबाट पहिरो खस्दा रोल्पामा एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं, भदौ २७–रोल्पाको थबाङ गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । शहीदमार्गतअन्तर्गत घर्तीगाउँ–थबाङ खण्डको छेर्लोबाङमा बिहीबार राति पहिरोले शीरकुमारी बुढामगरको घर पुरेको हो । पहिरोमा २८ वर्षीया शीरकुमारीसहित उनका ४ वर्षीय छोरा असलको मृत्यु भएको छ ।

यस्तै, शीरकुमारीका ३८ वर्षीय जेठाजू जय बुढा, जयकी श्रीमती ३६ वर्षीया मूलज्योति, १० वर्षीया छोरी देवकी र डेढ वर्षीया छोरी गृष्माको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनदेखि भारी वर्ष भएकाले घर माथिबाट निर्माणाधीन शहीद मार्गबाट पहिरो खस्दा शीरकुमारीको घर पुरिएको हो । बिहीबार दिउँसोबाट भइरहेको भारी वर्षाका कारण पहिरो खस्ने आशंकाले छिमेकी पनि शीरकुमारीको घरमा आश्रय लिएर बसेका थिए । घटनास्थल लिबाङबाट करिब ६० किलोमिटर उत्तरमा रहेको छ ।

Featured