देश

चितवनमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुँदै

चितवन, भदौ २७–चितवनको रत्ननगरमा आगामी असोज दोश्रो साता राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पूर्वी चितवन स्पोर्टस क्लवको आयोजनामा रत्ननगर ३ वेल्सीमा दोश्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले प्रतियोगिताबारे जानकारी गराएको थियो ।

प्रतियोगिता असोज १० गतेदेखी १२ गते सम्म वेल्सी स्थित प्रस्तावित कर्वड हलमा संचालन हुने प्रतियोगिताका संयोजक पुरु खनालले जानकारी दिए । खनालका अनुसार करिव ३० जिल्लाबाट खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा भएको आम्दानीको कुल २० प्रतिशत रकम असहाय वालवालिकाहरुको संरक्षणका लागि छुट्याईने संयोजक खनालले वताए ।प्रतियोगिता खुल्ला र भेट्रान गरि दुई विधामा हुनेछ ।

हिन्दुहरुको महान चार्ड विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसर पारेर आयोजना गर्न लागिएको सो प्रतियोगितामा खुल्ला तर्फको विजेताले ६१ हजार रुपैया र उपविजेताले नगद ३१ हजार रुपैया प्राप्त गर्ने क्लवका अध्यक्ष केवल न्यौपानेले वताए ।

भेट्रान तर्फ विजेताले नगद २५ हजार र उपविजेताले नगद १५ हजार रुपैया प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागीताका लागि खुल्ला तर्फ प्रवेश शुल्क ४ हजार र भेट्रान तर्फ २ हजार ५ सय रुपैया लाग्ने छ ।

अन्य जिल्लाका खेलाडीहरुलाई नकआउट आधारमा खाना र वस्नको सुविधा मिलाईएको छ । युवाहरुको भुमिकालाई सामाजिक तथा व्यवसायिक क्षेत्रमा परिचय गराउने उदेश्यका साथ प्रतियोगिता गर्न लागिएको क्लवका संरक्षक एवम् प्रतियोगिताका अर्का संयोजक विकास डल्लाकोटीले वताए ।

प्रस्तावित कवर्ड हल निर्माणका लागि १ करोड २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५० लाख रुपैया कवर्ड हल निर्माणमा विनियोजन गरेको क्लवका सचिव राजु भट्टराईले वताए ।

Featured