मनोरंजन

‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ आजदेखि शुरू

काठमाडौं, २६ भदौ–मानवअधिकार चलचित्र केन्द्रको आयोजना नेपालमा पहिलो पटक ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ आजदेखि शुरू भएको छ । तीन दिनसम्म चल्ने कन्फरेन्समा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । सो अवसरमा अध्यक्ष भट्टराईले पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा थुप्रै परिवर्तन आएको बताए । ‘सिर्जनशील र व्यवसायलाई मात्र चलचित्र हो ? सिंगो सिर्जनशिलतमा सबै पर्छन् कि पर्दैनन् ? यो विषयमा बहस गरिदिनुहोला । साथै, चलचित्र विधेयक सबैले अध्ययन गरी उचित राय दिन आग्रह छ’, उनले भने ।

यो कन्फरेन्सबाट आगामी दिनमा फिल्मको अध्ययन गर्ने विद्यार्थीहरूका लागि कोर्स अफ स्टडिजमा यो दस्तावेज र उपयोगी कुराहरू राखिनेमा आफू विश्वस्त रहेको बताए । काठमाडौं कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कन्फरेन्समा समाजशास्त्रीय दृष्टिमा चलचित्रका बारेमा बोल्दै राजनीतिशास्त्री हरि शर्माले सिनेमा संसारको सुख दुःख, हर्ष र आनन्द एकै ठाउँमा पाइने बताए ।

‘अहिले हातहातमा सिनेमा छ । कन्फाइन्ड स्टेटमा सिनेमा हेर्दा खेरी इमोसन ह्याप्पिनेस एंगरनेश सबै कुरा महससु गर्न पाइन्छ’, शर्मा भन्छन्, ‘ब्ल्याक एण्ड ह्वाइटबाट मल्टी कलर र स्टेरियो भ्वाइसदेखि डिजिटल भ्वाइससम्म आउँदा टेक्नोलोजीमा धेरै विकास भएको छ ।’ उनले सिनेमाले बदलिदो समाजसँगै सेन्स एण्ड सेन्सिबिलिटीलाई कसरी जोड्छ ? भन्ने कुरामा परिवर्तन हुँदै आएको बताए ।

‘दर्शकको दृष्टिकोणमा सिनेमा के हो ? मनोरञ्ननका लागि बनाउने मान्छे सिनेमालाई कुन विषय वस्तुमा बनाउँछ ? सिनेमाले दर्शकको नारी छाम्न सक्नुपर्छ’, शर्माले थपे । शर्माका अनुसार नेपाली सिनेमाले समाजको प्रतिनिधित्व गर्न सकेको छैन । राज्यका लागि सिनेमा पब्लिक प्रोप्रोगाण्डा मात्रै हो । सिनेमाका लागि राज्यले कहिल्यै पनि सहजकर्ताको रूपमा काम नगरेको उनको भनाइ थियो ।

सिनेमा कसरी आत्मनिर्भर हुन्छ भन्ने कुरा आजको आवश्यकता हो । वस्तुस्थितिअनुसार सिनेमा यथार्थवादी हुन सक्छ कि सक्दैन ? यो कथाहरूबाट पर्फेक्ट सिनेमा बनाउन सकिन्छ कि सकिँदैन । सिनेमा बनाउनेले कथा र प्लटको सृजना आफैं गर्न सक्नुपर्ने उनको दाबी छ ।

त्यस्तै, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले व्यावसायिक रूपमा नेपाली चलचित्र शुरुवात भएको ६ दशक भइसको बताइन् । ‘ओस्कार अवार्डका लागि नोमिनेसन हुने फिल्म पनि बनेका छन् । तर, बौद्धिक बहस हुन सकेको छैन । आफ्नो सृजनाको कुरा साटासाट गर्दैनौं । स्क्रिप्टमा नयाँ कुरा ल्याउन सर्जकहरू एकआपसमा बसेर छलफल गर्दैनौं,’ उनले भनिन् । चलचत्रिले बोलेका कुराले समाज परिवर्तन गर्न सक्नुपर्छ भन्ने उनको दाबी छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै लोकरञ्जन पराजुलीले नेपाल सिनेमाको कसरी शुरुवात भयो भन्नेबारे चर्चा गरे । अनुभव अजित र उज्वल प्रसाईंले नेपाली पञ्चायती सत्ताले राष्ट्रवादको न्यारेटिभ बनाएको थियो र अहिले पनि त्यो न्यारेटिभबाट भाग्न नसकेको बताए ।

त्यस्तै, नेपाली सिनेमा महिलाहरूको प्रस्तुतिकरणमा सम्झना वाग्लेले पञ्चायत काल, प्रजातान्त्रिक काल ,गणातान्त्रिक कालमा नेपाली सिनेमामा महिलाहरूको सहभागिताबारे कार्यपत्र प्रस्तुत गरिन् । नेपाली चलचिमा विविधताको खोजीबारेको प्यानल छलफलमा विश्लेषक सोमत घिमिरे, निर्देशक दिपेन्द्र के खनाल, निर्माता तथा कलाकार दीपकराज गिरी र अभिनेत्री लक्ष्मी बर्देवा सहभागी थिए ।

बिहीबारदेखि शनिबारसम्म हुने कन्फरेन्समा नेपालमा चलचित्र निर्माण, नेपाली चलचित्रको विभिन्न विषयको चित्रण, तिनको प्रभावबारे अध्येताहरूले लेखेका विभिन्न कार्यपत्रको प्रस्तुति, ती कार्यपत्रमाथि छलफल तथा फिल्मक्षेत्रका जल्दाबल्दा विषयमा छलफल हुनेछ ।

Featured