देश

पर्वतबाट सवा २ लाख नगदसहित ४ जुवाडे पक्राउ

पोखरा, भदौ २६–पर्वतमा सवा २ लाख नगदसहित ४ जना जुवाडे पक्राउ परेका छन् । कुश्मा नगरपालिका– ९, कटुवाचौपारीबाट बुधबार दिउँसो नगद २ लाख १७ हजार २ सय रुपैयाँसहित ४ जना जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही वडाका स्थानीय ३७ वर्षीय दिनेश ढकाल, ३५ वर्षीय नवराज अधिकारी, सल्यान जिल्लाको शारदा नगरपालिका ६ घर भई हाल सोही ठाउँमा बस्दै आएका ३८ वर्षीय उमाभक्त बस्नेत र फलेवास नगरपालिका– ३, शंकरपोखरीका ५० वर्षीय रामप्रसाद तिवारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जुवाको खालमै रहेका स्थानीय ३८ वर्षीय मदन शर्मा (रुद्र शर्मा पौडेल) भने फरार भएका छन् ।

स्थानीय लक्ष्मी श्रेष्ठको घरमा ठूलो आर्थिक कारोबार हुने गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक राजन रायमाझीको नेतृत्वमा गएको टोलीले छापा मार्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पक्राउ परेका जुवाडेलाई बिहीबार जिल्ला प्रशासन कार्यालय पर्वतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । उनीहरूलाई जुवातास एवं सट्टाबाजी गरेको अभियोगअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

Featured