देश शिक्षा

चितवन मेडिकल कलेजद्वारा विद्यार्थीसँग तोकिएभन्दा १२ लाख बढी असुली

काठमाडौं, भदौ २६-चितवन मेडिकल कलेजले तोकिएभन्दा १२ लाख बढी शुल्क असुली गरेको विद्यार्थीको गुनासो छ।

अवैध ढंगले लिएको शुल्क फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखी विद्यार्थीले १० दिनदेखि आन्दोलन गरिरहेका छन्।

तर, यस्तो गम्भीर प्रश्न उठ्दा पनि छानबिन गर्नुको साटो राज्यले विद्यार्थीमाथि नै दमन गरिरहेको छ।

बुधबार मात्रै आन्दोलनरत विद्यार्थीमाथि हस्तक्षेप गरी प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। झडपका क्रममा केही विद्यार्थी घाइते भएका छन्। एप्रोन लगाएका विद्यार्थीले प्रहरीको हिरासत भरिएको छ।

‘अवैध रूपमा उठाइएको शुल्क फिर्ता गर्नुपर्छ भनेर देशभर आन्दोलन छ, चितवन मेडिकल कलेजमा पनि अतिरिक्त शुल्क लिइएको छ। त्यस्तो शुल्क फिर्ता गर्नुपर्छ भन्दा सरकारले उल्टै हामीमाथि दमन गर्दै छ,’ उनले भने।

सरकारले नै खटाएको टोलीको अध्ययनमा किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट तोकिएकोभन्दा बढी शुल्क लिएको पुष्टि भएको थियो।

बढी लिएको शुल्क फिर्ता गर्न र कलेज सञ्चालकलाई प्रचलित कानुनअनुसार कारबाही गर्न समितिले सिफारिस गरेको थियो। तर, अहिलेसम्म कुनै कारबाही भएको छैन

विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन गण्डकी मेडिकल कलेजले साढे ६ महिना बित्दा पनि कार्यान्वयन गरेको छैन।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले पनि विद्यार्थीमाथि आर्थिक ज्यादती गरेको छ। सरकारले तोकेको शुल्कबाहेक विद्यार्थीको बसोवास, खाना, विश्वविद्यालय र काउन्सिललाई तिर्नुपर्ने शुल्कबाहेक कलेजले अन्य शीर्षकमा रकम उठाउन पाउँदैन।

तर, नेसनल मेडिकल कलेजले त्यसबाहेक ‘प्रोमोसन’ शीर्षकमा एक लाख २५ हजार, इन्टरनेटमा १२ हजार ६ सय उठाएको छ। त्यतिले मात्रै नपुगेर उसले ‘अन्य’ शीर्षकमा समेत ४० हजार रुपैयाँ उठाएको छ।

यो समाचार आजको नयाँ पत्रिका दैनिक मा प्रकाशित छ।

Featured