देश

सुख नाप्ने रहरको कहर

काठमाडौं, भदौ २६–‘समृद्ध नेपाल र सुखी नेपाली’ नारासँग जोडिएर सरकारले चालू आर्थिक वर्षको समष्टिगत सुख सर्वेक्षण गर्ने भने पनि कामले गति लिन सकेको छैन। यो सर्वेक्षणका लागि हालसम्म न कुनै परिचालन समिति गठन भएको छ, न त त्यसअन्तर्गत गठित प्राविधिक समितिले काम नै अघि बढाएको छ। केन्द्रीय तथ्यांक विभागले यससम्बन्धी सामान्य अवधारणापत्र बनाएको छ तर यति महत्वपूर्ण अध्ययनका लागि आवश्यक विधि अझै टुंगिएको छैन।

विविध सामाजिक, सांस्कृतिक र भौगोलिक पृष्ठभूमि रहेको नेपालका लागि सुखको सर्वमान्य परिभाषा के हुने ? पहिलोपटक हुन लागेको यो तथ्यांकको आधार बिन्दु अर्थात् बेस लाइन केलाई मान्ने ? यी र यस्ता प्रश्न जटिल बनेर तेर्सिएका छन्। वस्तुगतभन्दा पनि विषयगत विश्लेषणको भार अत्यन्त बढी रहने यो प्रस्तावित सर्वेक्षणका लागि सम्बन्धित निकायसँग विषय विज्ञको पनि अभाव देखिन्छ।

नेपालको १५औं योजनाको आधारपत्रले समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन राष्ट्रिय सोच राखेको र उक्त सोचलाई सहयोगी हुनेगरी वर्तमान अवस्थाको आधार तथ्यांक तयार गर्ने हिसाबले सरकार यो अध्ययन गर्न अग्रसर भएको राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयाँल बताउँछन्।

आयोगले उक्त योजनाको दीर्घकालीन सोचमा नेपाललाई समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्या्दित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक बनाउने भनेको छ।

त्यस्तै सुख मापनका लागि ६ वटा लक्ष्य राखिएका छन्, जसमा परिष्कृत तथा मर्या्दित जीवन, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन, सबल लोकतन्त्र र राष्ट्रिय एकता, सुरक्षा र सम्मान पर्छन्। यी लक्ष्यलाई थप परिभाषित गर्न अन्य २३ वटा सूचकसमेत तय गरिएका छन्। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured