राजनीति

नेता कार्यकर्तालाई बाहिर राखेर सपथग्रहण

सर्लाही, भदौ २६–अधिकांश नेता कार्यकर्तालाई बाहिरै राखेर कडा सुरक्षा घेराबीच सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम बुधबार दिउँसो सम्पन्न भएको छ। नेकपाका एक नेताका अनुसार जिल्ला कमिटीमा नपरेका र अतिथिबाहेक पार्टी भित्रैका नेता कार्यकर्तालाई समेत सभाहलमा प्रवेश गर्न दिईएको थिएन।

कार्यक्रममा विवाद हुँदै झडपसमेत हुनसक्ने आशंकासहित जिल्ला नेतृत्वले सपथग्रहण गर्ने सभाहलभित्र प्रवेश गर्नका लागि जिल्ला कमिटीभित्र परेका सदस्य तथा अतिथिहरुलाई कुपन वितरण गरेको थियो। पार्टीका स्वयंसेवक सदस्यले कडाईका साथ चेकजाँच गरेपछि मात्र जिल्ला कमिटीका अध्यक्ष एवं सदस्य तथा अतिथिहरुले सभाहल भित्र प्रवेश गर्न पाएका थिए।

सपथग्रहण भव्य बनाउन गएका अधिकांश नेता कार्यकर्ताहरु कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पूर्व–पश्चिम राजमार्ग्स्थित वरपिपल चौतारामा बसेका देखिन्थे। सपथ खाएका एक जिल्ला कमिटी सदस्यले कार्यक्रम स्थलमा प्रवेशका लागि पाएको कुपन देखाउँदै भने, ‘यस्तो कुपन नपाउने पार्टीका जो कोहीलाई पनि कार्यक्रम स्थलमा प्रवेश निषेध थियो।’ सपथग्रहण कार्यक्रम सम्पन्न सानो सभाहल बाहिर भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका उल्लेख्य सुरक्षाकर्मी तैनाथ थिए। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured