देश

प्रभु बैंकले कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्ने

काठमाडौं, भदौ २५–प्रभु बैंकले दक्षिण कोरिया र भारतमा रहेका करिब २१ हजार नेपालीको खाता खोल्ने भएको छ । यसका लागि बैंकले युकेएड सक्षमसँग सहकार्य गरेको छ । कोरिया र भारतमा रहेका नेपालीको खाता खोल्न दुई संस्थाबीच भएको सम्झौता पत्रमा बुधबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र युकेएड सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।

बैंकले बचत खाता खोलिदिने तथा नेपालमा रहेका उनीहरुको परिवारमध्ये ६ सयलाई ऋण लगानी पनि गर्नुपर्ने सम्झौतामा उल्लेख छ । बैंकले विदेशमा रहेका नेपालीलाई वैदेशिक रोजगार बचतपत्र र बीमालेख किन्न प्रोत्साहन गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ब्याज अनुदानको ऋण उपलब्ध गराएर उद्यमशीलता विकास गर्नसमेत बैंकले भूमिका खेल्ने बताएको छ ।

१८ महिने यो परियोजनाका लागि युकेएड सक्षमले १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सहकार्य सम्झौतामा हस्ताक्षर गर्न काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले रेमिटेन्स भित्र्याउँदा कुल रकमको १.७ प्रतिशत खर्च लाग्ने गरेको बताउँदै यसलाई घटाएर औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउनुपर्नेमा जोड दिए ।

‘औपचारिक च्यानलबाट रेमिटेन्स भित्र्याउन सबैले भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने । प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले हुण्डी नियन्त्रणका लागि सक्षमसँगको सहकार्य महत्त्वपूर्ण हुने बताए । ‘सक्षमसँगको सहकार्यले औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउन अझै सहज हुने हाम्रो विश्वास छ,’ उनले भने ।

सक्षमका टोली प्रमुख निर्मल दाहालले पनि प्रभु बैंकसँगको सहकार्यले औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउने काममा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘अहिले हामीले देखेको चुनौती भनेको विदेशबाट अनौपचारिक माध्यमबाट पैसाको लेनदेन हो,’ उनले भने, ‘यस्तो अनौपचारिक कारोबार हामी दुई संस्थाले मिलेर गर्ने कामले निरुत्साहित हुने छ र औपचारिक माध्यमबाट कारोबार हुने छ ।’

Featured