देश

पहिरोले खोला थुन्यो, बाह्रविसे बजार उच्च जोखिममा

संखुवासभा, भदौ २५–संखुवासभाको सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको छ । आज दिउँसो बर्षासँगै आएको पहिरोले सभाखोला थुनिएपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा परेको हो । दिउँसो ३ बजे तिर झरेको पहिरोले सभापोखरी गाउँपालिका कार्यालय रहेको बजार भन्दा तिन किलोमिटर माथि ४ र ६ वडाको बीचमा रहेको फाक्सीबुकमा ताल बनेको छ । करिव सात सय मिटर माथि खेवउरिङ गाउँबाट झरेको पहिरोले सभाखोला थुनिएर ठूलो ताल बनेको वडा नम्बर ६ का वडाध्यक्ष विकास पौडेलले जानकारी दिए ।

पहिरोले ताल बनाएका कारण गाउँपालिका केन्द्र रहेको बाह्रविसे बजार र खोला किनारका बस्ती उच्च जोखिममा परेको उनले बताए । त्यस क्षेत्रमा लगातार पानी परिरहेको छ । पहिरोले सभाखोला थुनिए पछि ३ सय मिटर लामो ताल बनेको छ । वडाध्यक्ष पौडेलका अनुसार त्यस क्षेत्रमा पानी परिरहेको कारण ताल कुनै पनि बेला फुट्ने सक्ने अवस्था छ । बाह्रविसे बजार र खोला किनारमा रहेका १ सय घर जोखिमा परेको उनको भनाइ छ । घटनास्थल सदरमुकाम खाँदबारी बाट एक दिनको पैदलमा पर्छ ।

Featured