देश

तरुण दलका अध्यक्ष र महासचिव आरोप प्रत्यारोपमा

काठमाडौं, भदौ २५–नेपाल काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल आन्तरिक कलहमा रुमलिएको छ । दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीबीचको टकरावले आन्तरिक कलह बढेको हो । कांग्रेसले कार्यकर्तामा उत्साह जागृत गराउन भन्दै १५ दिने लामो राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको बेला भातृ संगठनमा भने अध्यक्ष र महासचिवबीच लफडा शुरु भएको छ ।

दलका महामन्त्री शाही माउ पार्टी काँग्रेसले संचालन गरेको राष्ट्रिय जनजागरण अभियानप्रति नै रुष्ट देखिएका छन् । भ्रातृ संस्थालाई पूर्णता नदिई जनजागरण अभियान शुरु गर्नुको औचित्य नभएको र नौटंगी मात्रै भएको आरोप महासचिव शाहीको छ । महासचिव शाहीले ‘भ्रष्टाचारमुक्त नेपाल –सुशासनयुक्त नेपाल’ अभियान अन्तर्गत जिल्ला, नगर, गाउँ, वडा सबै ठाउँमा भ्रष्टाचारबिरुद्ध फण्डाफोर अभियान सञ्चालन गर्ने भन्दै सबै जिल्ला कार्य समितिलाई पत्राचार गरेका थिए । महासचिव शाहीको यस्तो पत्रप्रति अध्यक्ष बस्नेतले गम्भीर आपत्ति जनाउँदै कारबाहीको चेतावनी दिएका छन् ।

अध्यक्ष बस्नेत र महासचिव शाहीबीच पार्टीको लेटरप्याडमा पत्राचार गरागर समेत भएको छ । महासचिव शाहीले मंगलबार सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठलाई गरेको कारबाही फुकुवा गर्न र सप्तरी तरुण दल अध्यक्षमा सिताप्रसाद यादवलाई तीन महिना भित्र जिल्ला अधिवेशन गर्ने गरी पत्राचार गरेका थिए । शाहीले बुधबार पनि विज्ञप्ती जारी गर्दै भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रिय जागरण अभियानको क्रममा अघि बढाउने आफ्नो प्रस्तावलाई स्वीकार्न नसकेको भन्दै पुनः अभियानलाई निरन्तरता दिन आग्रह गर्दै देशव्यापी परिपत्र गरेका छन् ।

अध्यक्ष बस्नेतले बुधबार विज्ञप्ती जारी गर्दै महासचिव शाहीलाई कारबाहीको चेतावनी दिएका छन् । ‘दलका महासचिव भूपेन्द्रजंग शाहीले विधान, विधि र प्रक्रिया एबं सिद्धान्त र आदर्श विपरित गई गरेका पत्राचार एवम् कार्यहरु अवैधानिक भएको हुँदा भ्रममा नपर्न सबै साथीहरुमा आग्रह गर्दछु, शाहीले पदीय जिम्मेवारीको परिधि नाघेकोले सचेत गराउँछु,’ अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।उनले शाहीलाई संगठनको हितविपरीत अशिष्ट व्यवहार र क्रियाकलाप नगर्न चेतावनी पनि दिएका छन् । महासचिव शाहीले पदीय अधिकार र कर्तव्य विपरित अनाधिकृत रुपमा गरेको निर्णय दलले अस्वीकृत गरेको जनाए ।

अध्यक्ष बस्नेतका अनुसार सिन्धुपाल्चोक तरुण दलको समानान्तर समिति गठन गर्ने सगुन श्रेष्ठसहितलाई दलले कारबाही गर्दा महासचिव शाहीले सहमति जनाएका थिए । तर, शाहीले अहिले बिनाकारण कारबाही फुकुवाको पत्राचार गरेको अध्यक्ष बस्नेतको दाबी छ । ‘बिधानले अध्यक्षलाई जिम्मेवारी दिएको छ, कसैलाई गरिएको कारवाही फुकुवा भएको छैन, सबै निर्णय यथावत छन्, अहिले कुनै पनि जिल्लामा कसैलाई मनोनीत गरिएको छैन,’ अध्यक्ष बस्नेतले भने ।

महासचिव शाहीले भने सिताप्रसाद यादवलाई तरुण दल सप्तरीको अध्यक्षको जिम्मेवारी र सगुन श्रेष्ठलाई सिन्धुपाल्चोकको उपाध्यक्षमा यथावत राखी कारबाही फुकुवा गरेको पत्र दिएका थिए । शाहीले तरुण दल अध्यक्षको अवदेखि कुनै पनि अवैधानिक र एकल निर्णय गर्ने अधिकार नभएको समेत दाबी गरेका छन् ।

‘तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले व्यक्तिगत स्वार्थका कारण पटक पटक संगठनलाई कमजोर बनाउने गतिविधि गर्दैछन्, देश भ्रस्टाचारबाट आक्रान्त छ, भ्रस्टाचारमा देश डुब्न लागेको बेला तरुण दल टुलुटुलु हेरेर बस्न मिल्दैन’, महामन्त्री शाहीले भने । सबै खाले भ्रष्टाचारविरुद्ध देशब्यापी भण्डाफोर अभियान संचालन गरांै भन्दा अध्यक्ष बस्नेतले अस्वीकार गरेको महासचिव शाहीको दाबी छ ।

Featured