देश

मुस्लिम समुदाय ताजिया मेला मनाउँदै

जनकपुर, भदौ २५–मुस्लिम समुदायले जनकपुरधाम सहित देशका विभिन्न स्थानमा ताजिया (दाहा) मेला मनाइँदै छन । मुस्लिमवस्ती भएका ठाउँहरुमा दाहा बनाइएको छ । सो स्थलमा युवाले विभिन्न प्रकारका कलात्मक खेल प्रदर्शन गर्ने गरेको देखिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१३ कबर्ड हल नजिक बनाइएको सो दाहा हेर्न विभिन्न स्थानका व्यक्तिहरु पनि जम्मा भएका छन् ।

दाहा मेलामा मुस्लिम समुदायका महिलाहरुले हसन हुसेनको सम्झनामा गीत गाउने पनि परम्परा रहेको छ । तीन दिनसम्म चल्ने मेलाको अन्तिम दिन उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई तक्मा (सिल्ड) वितरण गर्ने आयोजक कमिटीले जनाएको छ । इस्लामिक क्यालेन्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो ।

इस्लाम धर्मअनुसार मोहरम महिनाबाट नयाँ वर्षको सुरुवात हुन्छ । यो महिनामा नै इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको रक्षाका लागि आफ्नो ज्यानको कुर्बानी (बलिदानी) दिएका थिए । इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत (स्वर्ग) पु¥याउन गरेको बाचानुरुप बदलामा हुसेन इराकको राजधानी करबला बग्दादमा सहिद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको मौलना कमरुदिन सिद्धिकीले बताए ।

कुरानअनुसार हुसैनकी आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकाले नवाज पढ्ने समयमा सधैं हुसेन रोइरहेपछि फरिस्ताले अल्लाहले आग्रहमा नवाज सुन्न बाधा नपरोस् भनी जन्नत घुमाउँदासमेत हुसेन रुन नछाडेपछि अल्लाहले ‘तिमी किन रोइरहेको’ भनी प्रश्न गरे ।हुसैनले हर्जरत मोहम्मदका उम्मद (अनुयायी) सीधै जन्नत जान पाऊन् भनी माग गरेपछि अल्लाहले ‘तिमी कर्रवला बग्दादमा सहिद हुन तयार छौ भने मात्र म तिम्रो इच्छा पूरा गर्नेछु’ भनी वाचा गरेपछि मोहर्रमको नवमीको रात हुसैनको कतल गरी मोरम दशमीको दिन सहिद भएको सम्झनामा यो पर्व मनाइन्छ । हुसैन सहिद भएको दिनदेखि संसारभरी इस्लाम धर्म फैलिएको बताइन्छ ।

हसन र हुसैनकै सम्झनामा मुस्लिम समुदायले मोहरम महिनामा ताजिया बनाएर दाहा गर्ने गर्छन् । तर, इस्लामिक धर्मगुरु भने ताजिया नमनाएरै पनि उनीहरूलाई सम्झिन सक्ने बताउँदै आएका छन् । खेलतमासा वा दाहा नै बनाएर हसन–हुसैनलाई सम्झनु गलत रहेको बताउँदै जनकपुरधामका मौलाना अजिज राइनले भने, ‘यो दिन व्रत बस्नेलगायतका धार्मिक कार्य गर्दा राम्रो हुन्छ, यसले पुण्य पनि प्राप्ति हुन्छ ।’ केहीले दुई दिन ब्रत बसेर पनि यो पर्व मनाएको देखिएको छ ।

Featured