देश

काम छाडेर हिँड्ने ठेकेदारलाई खोजीखोजी काम लगाउँछौं : मुख्यमन्त्री गुरुङ

पोखरा, भदौ २५–गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले काम छाडेर हिँड्ने ठेकेदारलाई खोजीखोजी काम लगाउने बताएका छन् । स्याङ्जाको फेदीखोलास्थित सर्केटारी गलेम पञ्चासे ग्रामीण सडकको उद्घाटन समारोहमा उनले काम नगर्ने केही ठेकेदारलाई कारबाहीको सिफारिस गरेको बताए । ‘संघीय सरकारमातहतका योजना प्रदेशलाई हस्तान्तरण भएपछि धेरै योजना अलपत्र अवस्थामा छाडिएका रहेछन्’ उनले भने, ‘हामीले बेपत्ता भएका ठेकेदारलाई खोजीखोजी काम लगायौं ।’

मुख्य मन्त्री गुरुङले उक्त सडक खण्डको छङ्गाछुर भीर खण्डमा जोखिम मोलेर समयमा काम सम्पन्न गरेको भन्दै ठेकेदार कम्पनी बाराही कन्स्ट्रक्सनको प्रशंसा गरे । ‘हामीले त ठेकेदारलाई कारबाही गर्दै छौं’, उनले भने, ‘तर यहाँ त जनताले ठेकेदारलाई माला लगाइदिए, राम्रो काम गर्दा माला लगाउन पाइँदो रहेछ ।’ संघीय सरकारले चासो नदिएका कारण ८र१० वर्षदेखि अलपत्र परेका योजनाहरूसमेत ८ महिनामै प्रदेश सरकारले सम्पन्न गराएको उनले उदाहरण दिए। विकास निर्माणका काम गर्न स्थानीयले ठूलो रकम जुटाएको भन्दै उनले प्रशंसा गरे ।

‘धेरै ठाउँमा सरकारको मात्र मुख ताक्ने प्रवृत्ति छ,’ उनले भने, ‘यहाँ त घरघरै र विदेशमा बस्ने गाउँलेले पनि पैसा हालेका रहेछन् । यहाँबाट अरुले पनि पाठ सिक्नुपर्छ ।’ मुख्य मन्त्री गुरुङले खानेपानी र बिजुलीका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘प्रदेशभर खानेपानी र बिजुली पु¥याउने सरकारको लक्ष्य छ’, उनले भने, ‘यहाँका पुराना पोल फेर्न र घरघरै धारा पु¥याउन सहकार्य गर्ने योजना पनि लिएर आउनुहोला ।’

उनले गरिब जनतालाई इलम गर्न प्रदेश सरकारले सबै समस्याको समाधान गरिदिने बताउँदै इलम गर्न खोज्दा आइपर्ने जुनसुकै समस्या लिएर आउन आग्रह गरे । प्रदेश सरकारको ढोका जतिबेला पनि खुल्लै रहने भन्दै उनले नेता लगाउनुपर्ने, भनसुन गर्नुपर्ने अवस्था नरहेको बताए ।

इजरायलमा कृषि तालीमका लागि गण्डकी प्रदेशबाट २ सय किसान पठाउने तयारी रहेको समेत उनले बताए । ‘तालीममा जाने किसान छनोट गर्दा गोठमा काम गरेका र माटोमा काम गरेकालाई मात्र पठाउनेछौं,’ उनले भने। ‘किसान छान्दा सोर्स फोर्स, पार्टी र प्रतिपक्षीले भनेको केही चल्ने छैन।’

गतवर्ष सोही स्थानमा जाँदा स्थानीयले कर्णालीमा बस्नुपरेको गुनासो गरेको सम्झँदै मुख्य मन्त्री गुरुङले भने, ‘गण्डकी प्रदेशका कुनै पनि गाउँ कर्णालीको दुर्गमतासँग दाँज्नुपर्ने अवस्था आउनु दिँदैनौं ।’ उक्त सडक निर्माण गर्न २ करोड ५ लाख ३५ हजार खर्च भएको थियो, जसमध्ये फेदीखोला गाउँपालिका, प्रदेश सरकार, संसद् विकास कोषबाट १ करोड २५ लाख २२ हजार र देश विदेशमा रहेका स्थानीयले ८० लाख १३ हजार रुपैयाँ सहयोग जुटाएका थिए ।

Featured