देश

१२ वर्षसम्म पनि बनेन धनगढी–खुटिया फास्ट ट्रयाक

धनगढी, भदौ २४–धनगढी–खुटिया फास्ट ट्रयाक सडक स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती भएको छ । झण्डै १२ वर्षअघि २०६४ सालमा कालोपत्रे गरिएको १० किलोमिटर सडक त्यसको एक वर्षपछि सडक दिपायल खुटिया फास्ट ट्रयाकमा पर्ने गरी काम थाल्ने भनिए पनि त्यसको काम अघि बढ्न नसक्दा धनगढीदेखि खुटियासम्मको सडक अलपत्र छ ।

सडक निर्माणका लागि पटकपटक आन्दोलन गरे पनि अहिलेसम्म कुनै पनि निकायले चासो नदेखाएको धनगढी उपमहानगरपालिका– ११ का दीपक खड्काले गुनासो गरे । ‘२०६४ सालमा कालोपत्रे भए पनि त्यसपछि उक्त सडकको मर्मत र स्तरोन्नतिको काम हुन सकेको छैन, अहिलेसम्म कुनै पनि निकायले सडक निर्माण कार्यमा चासो देखाएको छैन ।

‘उनले भने, ‘११ वर्षपहिले पिच बनेको सडक पूरै खाल्डाखुल्डी भए पनि मर्मत गरिएको छैन । चुनावका बेला धेरै आश्वासन दिए पनि अहिलेसम्म कुनै पनि निकायले त्यसको स्तरोन्नतिमा चासो नदिएको धनगढी– ११ की जौमती थापाले दुःखेसो गरिन् ।

समयमै सडक निर्माण नहुँदा उक्त सडक भएर स्कुल आउजाउ गर्ने विधार्थीहरूलाई समेत समस्या हुने गरेको उनले बताइन् । कहिले धूलो धूवाँ त कहिले वर्षातको हिलोले स्कुल आउन समस्या हुने गरेको गुनासो धनगढी उपमहानगरपालिका– ११ स्थित ठेकराज माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी ज्योति धानुकले गरे ।

धनगढी खुटिया सडक निर्माणका लागि वडा कार्यालयबाट पटकपटक पहल भइरहेको भए पनि कसैले चासो नदिएको धनगढी उपमहानगरपालिका– ११ का वडा अध्यक्ष गंगाराम रानाले बताए । वडाको बजेटले नपुग्ने र सम्बन्धित निकायले पनि चासो नदिने परिपाटीले सडकको स्तरोन्नति हुन नसकेको उनको भनाइ छ ।

सडक संघीय सरकार अथवा प्रदेश सरकार कसले बनाउने भन्ने अन्योल रहेकाले अहिले सडकको अवस्था दिन प्रतिदिन झन् दयनीय बन्दै गएको छ । केन्द्र सरकार मातहत रहेको सडक केही समयपहिले प्रदेशमातहतमा आए पनि प्रदेश सरकारले कुनै चासो नदेखाएपछि फेरि संघीयमातहत नै फिर्ता गएको छ, जसको प्रत्यक्ष मार त्यस क्षेत्रमा यात्रा गर्ने यात्रुले खेप्दै आएका छन् ।

Featured