देश

जनकपुरमा नेपाली ब्राण्डका भारतीय नक्कली चुरोटको बिगबिगी

जनकपुर, भदौ २४–नेपाल सरकारले सुर्तीजन्य पदार्थको विक्री वितरणमा कडाइ गरे पनि नेपाली बजारमा खुल्लेआम विक्रीवितरण भइरहेको पाइएको छ । यति मात्र नभई सुर्तीजन्य पदार्थको नक्कली ब्राण्डका पदार्थहरूसमेत विक्रीवितरण भइरहेको पाइएको हो । धनुषा तथा महोत्तरी बजारमा नेपाली ब्राण्ड खुकुरी र शिखरका नक्कली चुरोटहरूको बिगबिगी बढेको छ । धनुषा तथा महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको विक्रीवितरण भइरहेको हो । यो समस्या यी दुई जिल्लामा मात्र नभई प्रदेश २ का आठवटै जिल्लामा रहेको पाइएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७१र०७२ देखि लागू हुने गरी सुर्तीजन्य पदार्थको विक्री वितरणमा कडाइ गर्ने नियम लगाए पनि त्यसको कार्यान्वयन पक्ष भने एकदमै फितलो देखिएको छ । नियमको कार्यान्वयन नभएकै कारण नेपाली बजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली सुर्तीजन्य पदार्थको विक्री वितरण एवं कारोबार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाको अनुगमन टोलीले बताएको छ ।

धनुषाको यदुकोहा, सबैला, भठियन, भररिया, गोदार, महोत्तरीको जलेश्वर, मटिहानी, सम्सी, गौशाला र सर्लाहीको मलंगवा, गोडैता, हरिपूर्वालगायत स्थानमा खुकुरी र शिखर ब्राण्डका भारतीय नक्कली चुरोट छ्यापछ्याप्ती छ । सुर्तीजन्य ऐन २०६८ का अनुसार सार्वजनिक स्थलमा चुरोट, बिँडी, पानपराग, गुट्खालगायतका सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाएको छ ।

यसका साथै सुर्तीजन्य पदार्थको प्याकेटमा निश्चित रूपमा ७५ प्रतिशतसम्म चेतावनीमूलक सन्देश दिन भनिएको छ । यद्यपि सो नियमको धज्जी उडाउँदै आइएको छ । सम्बन्धित निकायले ठोस रूपमा अनुगमन गर्न नसक्दा भारतसँग सीमा जोडिएका नेपाली क्षेत्रमा खुल्लेआम रूपमा नक्कली ब्राण्डका नक्कली सुर्तीजन्य पदार्थ विक्रीविरण हुनाले राज्यको राजस्वमा समेत घाटा हुँदै आएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

नक्कली भारतीय सुर्तीजन्य पदार्थ नेपाली बजारमा पाउन थालिएपछि नेपाली उद्योगहरूसमेत धाराशयी हुने स्थितिमा पुगेका छन् । नक्कली र सक्कली चुरोटका सम्बन्धमा सूर्य नेपाल प्रालिका जनकपुर क्षेत्रका एरिया म्यानेजर प्रकाश भण्डारीले सक्कलीमा गाढा रातो रङको डिब्बा छ भने नक्कलीमा कम रातो छ । सक्कलीमा स्टिकर र लोगो छ भने नक्कलीमा त्यस्तो केही हुँदैन ।

Featured